काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिएको विषयमा नेविसंघले ध्यानाकर्षण भएको जनाएको छ । नेविसंघ त्रिवि सभापति विष्णु बडैलाले एक विज्ञप्ति जारी गर्दै नेपालको सबैभन्दा पुरानो र प्रतिष्ठित विश्वविद्यालयका उपकुलपतिको अकस्मात् राजीनामा दिनुलाई अस्वाभाविक भनेका छन् ।
उनको राजीनामा केवल व्यक्तिगत कारणले मात्र भएको हो वा त्यसका पछाडि कुनै राजनीतिक हस्तक्षेप, दबाब वा अस्वाभाविक शक्ति प्रयोग लुकेको हो भन्ने विषय स्पष्ट हुनु आवश्यक रहेको जनाएका छन । प्रधानमन्त्री स्वयं कुलपति हुने अस्वाभाविक व्यवस्था विश्वविद्यालयको स्वायत्ततालाई कमजोर बनाउने मुख्य कारण रहेको नेविसंघको ठहर छ ।
विश्वविद्यालयको सम्पूर्ण पदाधिकारीहरूको नियुक्ति योग्यता, अनुभव र निष्पक्षताका आधारमा गरिनुपर्ने, राजनीतिक भागबन्डा तत्काल अन्त्य गर्नुपर्ने, र विश्वविद्यालयलाई पूर्ण रूपमा स्वायत्त बनाउन स्पष्ट नीति ल्याइनुपर्ने माग गरे ।