पाँचथर ।
पाँचथरको कुमायक गाउँपालिका ३ ताम्राखमा वनमा लागेको डढेलोमा परी एक जनाको ज्यान गएको छभने अन्य चार जना घाइते भएका छन । वनमा लागेको डढेलोमा परी एक युवतीको ज्यान गएको होभने अन्य चारजना घाइते भएका हुन ।
डढेलोमा परी ज्यान गुमाउनेमा हात्तीपोखरीकी २६ वर्षिया प्रतिमा सम्बाहाम्फे रहेकी छिन । बिहीबार प्रतिमासँगै २८ वर्षीया सपना सम्बाहाम्फे, ११ वर्षीया शिवाना सम्बाहाम्फे र ६० वर्षीया निरमाया सम्बाहाम्फे घाँस काट्न जङ्गल गएका थिए ।
आगलागीबाट जोगिन भाग्ने क्रममा उनीहरु डढेलोमा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विनालाल साहले जानकारी दिए । घाइते चारै जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । प्रतिमाको गए राति बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । अन्य तीन जनाको धरानमा उपचार भइरहेको छ ।
उक्त वनमा लागेको आगो अझैसम्म नियन्त्रण नआएको कुम्मायक–३ का वडाध्यक्ष बावुराम कार्कीले जानकारी दिए ।