काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज (शुक्रबार) भेटवार्ता हुने भएको छ । आज दिउँसो थाइल्याण्डमा भेटवार्ता हुन लागेको हो । अपराह्न ४ बजे प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुने तय भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
उनीहरूबीच थाइल्याण्डको बैंककस्थित होटेल साड्ग्रिलामा भेटवार्ता हुने तय भएको हो । प्रधानमन्त्री ओली बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) कोे छैटौँ शिखर सम्मेलनमा सम्बोधन गर्न बैंककमा छन् । भारतीय प्रधानमन्त्री मोदी पनि उक्त शिखर सम्मेलनलाई सम्बोधन गर्न बैंकक पुगेका छन् ।
सम्मेलनलाई शुक्रबार बिम्स्टेक सदस्य मुलुकका सरकार प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम छ । शिखर सम्मेलनको पहिलो कार्यसूचीमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर गर्ने रहेको छ। आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले स्वागत सम्बोधन गरेपछि कायसूची प्रस्तुत गरिनेछन् ।
त्यसपछि बंगलादेश, भुटान, भारत, म्यान्मार, नेपाल र श्रीलंकाका प्रधानमन्त्री (प्रतिनिधिमण्डलका नेता) हरूबाट सम्बोधन हुनेछ । सम्बोधनपछि कार्यसूचीहरु पारित हुनेछन् भने आयोजक मुलुकका प्रधानमन्त्री शिनावात्ले पत्रकार सम्मेलन गर्नेछिन् । थाइल्याण्डको पहिलो औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली बिम्स्टेक शिखर सम्मेलनमा सहभागी भएका हुन् ।
बिम्स्टेक सम्मेलन सकिएपछि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुनेछ ।