पोखरा ।
पोखरा सभागृहमा आज (शुक्रबार) पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ हुँदैछ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा आज दिउँसो ३ बजेदेखि वरिष्ठ लोकदोहोरी गायक तथा सर्जक पुरुषोत्तम न्यौपानेको सांगीतिक साँझ हुन लागेको हो । न्यौपानेले साँझ ८ बजेसम्म आफ्ना विभिन्न लोकप्रिय १८ वटा गीत प्रस्तुत गर्नेछन् ।
लोक दोहारी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापामगरका अनुसार सांगीतिक साँझमा पुरुषोत्तम न्यौपानेको जीवनीमा तयार पारिएको वृत्तचित्र पनि प्रदर्शन गरिनेछ । दर्शकले निःशुल्क रुपमा न्यौपानेको प्रस्तुतिमा झुम्न पाउनेछन् ।
न्यौपानेका सररर पानीघट्टामा, ऐना हेरेर, रुन्छनी मन किन रुदैन जस्ता धेरै गीत चर्चित छन् । २०२९ सालमा स्याङजामा जन्मिएका न्यौपाने नेपाली लोक दोहोरी क्षेत्रमा एउटा गर्विलो ईतिहास कोर्न सफल भएका छन् । झण्डै साढे तीन दशकदेखि निरन्तर नेपाली लोकसंगीतमा रहेका न्यौपानेका करिब हजार भन्दा बढी गीतहरु रेकर्डिङ छन् । पुरुषोत्तम न्यौपानेले २०४६ सालमा बलाम देबीथान बोलको गीत गाएर सांगीतिक यात्रा प्रारम्भ गरेका थिए ।
स्वदेशका प्रायः सबै जिल्लादेखि थुप्रै विदेशका भूमिहरुमा समेत पुगेर दर्शकलाई मन्त्रमुग्ध पारिसकेका न्यौपानेले थुप्रै सम्मान, पुरस्कार र अवार्ड जितिसकेका छन् । उनले लोकगीतमा लगातार तीनपटक म्युजिक नेपाल अवार्ड पनि हात पारेका थिए । प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका न्यौपाने अहिले रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखरामा कार्यक्रम अधिकृतको रुपमा कार्यरत छन् ।
कर्मथलो पोखरा र जन्मघर स्याङ्जा भएकाले पनि सांगीतीक साँझ पोखरामा गर्न लागिएको गायक पुरुषोत्तमले बताए । जन्मघरबाट आउन पायक हुने र सम्बन्ध अल्ली बढी भएकाले पोखरा रोजिएको उनको भनाइ छ ।
अग्रजलाई सम्मान र नवप्रतिभालाई प्रोत्साहन भन्ने नाराका साथ अघि बढेको प्रतिष्ठानले गत वर्ष ‘नारायण रायमाझी सांगीतिक साँझ २०८०’ आयोजना गरेको थियो । वर्षेनी एक प्रतिष्ठित लोकदोहोरी कलाकारलाई प्रस्तुत गर्ने प्रतिष्ठानको योजनाअनुसार कार्यक्रम गर्न लागिएको प्रतिष्ठानकी अध्यक्ष मगरले बताइन् ।
न्यौपानेले आफू प्रस्तुतिको तयारीमा रहेको जानकारी दिएका छन् । दर्शकको अपार मायाँ पाउनेमा आफू विश्वस्त रहेको उनले बताए । ‘म आफ्ना प्रस्तुती राख्न तयार भएर बसेको छु । अब दर्शक र शुभचिन्तकको न्यानो साथले सांगीतिक साँझले पूर्णता पाउनेछ’ उनले भने ।