विराटनगर ।
अपहरणमा परेकी ७ वर्षीया बालिकाको सकुशल उद्धार गरिएको छ । सुनसरीको कोशी गाउँपालिका–७ मुसहरी टोलबाट बुधबार दिउँसो अपहरणमा परेकी ७ वर्षीया बालिकाको सकुशल उद्धार गरिएको हो । प्रहरीले बिहीबार दिउँसो सप्तकोशी नदीको ५६ नम्बर ढोकाबाट अपहरणमा परेकी ७ वर्षीया बालिकाको सकुशल उद्धार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाका अनुसार ती बालिका बुधबार दिउँसो साढे १ बजे आफ्नै घरबाट अपहरणमा परेकी थिइन् । घरबाटै बालिका अपहरणमा परेको सूचना पाएसँगै खोजी सुरु गरिएको र बिहीबार दिउँसो सप्तकोशी नदीको ५६ नम्बर ढोकाबाट आरोपीलाई समेत पक्राउ गर्न सफल भएको डीएसपी खतिवडाले बताए ।
पक्राउ पर्नेमा सप्तरी कञ्चननरूप नगरपालिका–१२ धरमपुरका ३१ वषीय जितुवा भन्ने जितेन्द्र साह (हलुवाई) रहेको उनले बताए । बुधबार करिब २ बजे बालिका अपहरणमा परेको जानकारी आफूहरूले पाएको र खोजी गर्ने क्रममा बिहीबार दिउँसो कोशी पुलमा बालिका सहित जितेन्द्रलाई नियन्त्रणमा लिन सफल भएको उनले बताए ।
सीसी क्यामेरा अध्ययन गर्दा कोशी पुलमा शंकास्पद अवस्थामा भेटिएपछि प्रहरीले साहलाई पक्राउ गरी बालिकाको उद्धार गरेको हो ।