गण्डकी विश्वविद्यालयको कुलपतिका लागि ३ जनाको नाम सिफारिस

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी विश्वविद्यालयको कुलपतिमा तीन जनाको नाम सिफारिस गरेको छ । छनोट समितिले ३ जनाको नाम सरकारलाई सिफारिस गरेको हो । तीमध्ये १ जनालाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले १ जनालाई नियुक्तिको निर्णय गर्ने छ ।

विश्वविद्यालय न्यायिक परिषद अध्यक्ष समेत रहेका छनोट समिति संयोजक प्राडा कैलाशनाथ प्याकुरेल, सदस्यद्वय प्रदेश लोक सेवा आयोग सदस्य कल्पना लम्साल र न्यासिक परिषद सदस्य डा. यमुना घलेले बिहीबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ३ जनाको नाम समावेश गरिएको बन्द खाम हस्तान्तरण गरेका हुन् । प्रस्तुतीकरण र अन्तर्वार्ताबाट छानिएका ३ जनाको नाम सिफारिस गरिए पनि नाम भने सार्वजनिक भइसकेको छैन ।

दुई समूह बनाएर १९ र २० गते प्रस्तुतीकरण र अन्तर्वार्ता लिइएको थियो । ७ जनाको आवेदन परेको भए पनि ५ जनाको दरखास्त स्वीकृत भएको थियो । स्वीकृत उम्मेदवारहरूमा प्राडा इन्द्रप्रसाद तिवारी (पोखरा ३१, कास्की), प्राडा कुसुमाकर न्यौपाने (पैयुँ ६, पर्वत), प्राडा नवराज देवकोटा ( सिरानचोक ४, गोरखा), प्राडा विश्वकल्याण पराजुली (पोखरा १, कास्की) र प्राडा सरोज कोइराला (पोखरा ५, कास्की) छन् । यी ५ जनामध्येबाट ३ जनाको नाम सिफारिस भएको छ ।

  • २१ चैत्र २०८१, बिहीबार १३:०६ प्रकाशित