दुर्गा प्रसाईंको खोजीका लागि विशेष ब्यूरोले लियो कमाण्ड

केन्द्रभाग मिडिया

काठमाडौं ।
गत चैत्र १५ गते शुक्रबार भएको राजावादी प्रदर्शनलगतै फरार रहेका दुर्गा प्रसाईंको खोजीका लागि विशेष ब्युरोले कमाण्ड लिएको छ । प्रसाईंको खोजी गर्न नेपाल प्रहरीले नयाँ रणनीति अबलम्बन गरेको हो । प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलसमशेर राणा, अधिवक्ता भद्रप्रसाद (स्वागत) नेपालसहितलाई पक्राउ गरेको थियो ।

तर, सबैभन्दा पहिले खोजिएका प्रसाईं अझै पक्राउ परेका छैनन् । उनको खोजीका लागि नेपाल प्रहरीले एकद्वार प्रणालीको विकास गर्दै प्रधान कार्यालयस्थित विशेष व्युरोको कमाण्डबाट काम शुरु गरेको हो । प्रसाईं उपत्यकाभित्रै छन् वा छैनन् भन्नेसमेत खुलेको छैन । प्रहरीस्रोतका अनुसार अनुसन्धानकर्मीको ध्यान अन्यत्र मोड्नका लागि उनी भारत छिरेको हल्ला चलाइएको हुन सक्छ । उनी नेपालभित्रै रहेको प्रहरी अनुमान छ ।

प्रसाईंको खोजीका निम्ति केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) र उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोली परिचालित थियो । अपराध अनुसन्धान कार्यालयले उक्त प्रदर्शनका प्रायजसो अगुवासहित कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोर लुटपाटमा संलग्न व्यक्तिहरु पक्राउ गरेर जिल्ला प्रहरी परिसर, काठमाडौंलाई बुझाइसकेको छ ।

केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) को टोली पनि प्रसाईंको खोजीमा थियो । तर, न्युन जनशक्ति र अनुसन्धान गरिनुपर्ने विषयको चापका कारण उसले पनि प्रसाईं खोजी गर्ने कामबाट हात झिकेको छ । बाहिरी युनिटहरु अन्य काममा व्यस्त भएपछि प्रहरी अनुसन्धानका जटिल विषयहरुको निरुपण गर्ने निकायका रुपमा रहेको विशेष व्युरोलाई सक्रिय बनाइएको केन्द्रीय प्रहरी स्रोतले जनायो ।

व्युरोको नेतृत्व डीआईजी सिद्धिविक्रम शाहले गरेका छन् । यसबारे उनले कुनै प्रतिक्रिया दिन चाहेनन् । अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार प्रसाईंको खोजीका क्रममा गरिएको सिसिटिभी फुटेज अध्ययनको निश्कर्ष, उनले चलाउने विभिन्न किसिमका इलेक्ट्रोनिक्स डिभाइसका आधारमा गरिएको अनुसन्धानबाट खुलेका तथ्य विशेष व्युरोलाई उपलब्ध गराइएको छ ।

  • २० चैत्र २०८१, बुधबार १३:४२ प्रकाशित