साढे पाँच महिनामा पार्टीको जिम्मेवारीमा फर्किए रवि

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टी राजनीतिमा फर्किएका छन् ।

सहकारी ठगीको आरोपमा चारवटा जिल्ला अदालतमा मुद्दा झेलिरहेका रवि कात्तिक २ गते पक्राउ परेका थिए । पुस ८ गते बसेको रास्वपाको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्याललाई दिने निर्णय गरेको थियो ।

सोमबार दिउँसो केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने केन्द्रीय समितिको विशेष बैठकपछि दोस्रो बैठकको नेतृत्व रविलाई सभापति बनाउने कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

रवि पक्राउ परेपछि मंसिर १० गते महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकको सभापतित्व उपसभापति अर्यालले गरेका थिए । शनिबार बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो ।

सरकारले रविविरुद्ध कास्कीसहित काठमाडौँ, रुपन्देही, चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । चारवटै जिल्ला अदालत गरी कुल दुई करोड ७९ लाख धरौटी रकममा छोड्न आदेश दिएको छ ।

  • १७ चैत्र २०८१, आईतवार १४:३८ प्रकाशित