काठमाडौं ।
काठमाडौंको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनलाई उकास्ने भूमिका खेलेको भन्दै सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहमो राहदानी रद्द प्रक्रिया अघि बढाएको छ ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार तीनकुने घटनाको छानबिन अघि बढेसँगै पूर्वराजा शाहको राहदानी रद्द गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन गइसकेको छ । गृहमन्त्री रमेश लेखकले घटनास्थलको स्थलगत अनुगमन अघि बढाइरहेको अवस्थामा प्रधानमन्त्रीको कार्यालयले ज्ञानेन्द्रलाई देशबाट भागेर जान नदिन उक्त प्रक्रिया अघि बढाइएको जनाएको छ ।
‘हिजो दुई जनाको ज्यान गुम्ने गरी भएको हिंसात्मक घटनामा प्रत्यक्ष(अप्रत्यक्ष रुपमा पूर्वराजाको संलग्नता छ । उनले निर्मल निवासमै बोलाएर दुर्गा पर्साइँ र नवराज सुवेदीसहितलाई उकास्ने काम गरेका थिए,’ प्रधानमन्त्री कार्यालय उद्धित गर्दै स्रोतले भनेको छ,, ‘यो प्रकरणमा सरकार सोचेभन्दा पनि गम्भीर छ । यो घटनामा तपाईंहरूले सोचेभन्दा पनि कडा रुपमा प्रस्तुत भएर सरकारले दोषी जो जति संलग्न छन्, ती सबैलाई कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढाइसकेको छ ।’
राज संस्था पुनर्स्थापनाका लागि भन्दै गठित संयुक्त जनआन्दोलन समितिको आह्वानमा शुक्रबार भएको आन्दोलन हिंसामा परिणत भएको थियो । दिनभर तनावग्रस्त बनेको तीनकुने क्षेत्रमा एकजना प्रदर्शनकारीको गोली लागेर मृत्यु भएको थियो । राजावादीले एउटा घरमा आगो लगाउँदा पत्रकार सुरेश रजकको ज्यान गुमेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंले सार्वजनिक गरेको विवरणअनुसार निजी र सरकारी गरेर १५ सवारी साधनमा आगजनी हुँदा १४ ठाउँका भौतिक संरचना ध्वस्त भएका छन् ।
प्रहरीले संयुक्त जनआन्दोलन समितिका ‘जनकमान्डर’ विवादस्पद व्यवसायी दुर्गा प्रसाईंको खोजी गरिरहेको छ । प्रहरीले जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्दमा राखेको छ ।
प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणा, जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल, विवादास्पद धर्मगुरु पुस्कर खतिवडालाई पक्राउ गरिसकेको छ ।