प्रधानमन्त्रीले संसदमा जवाफ दिने

केन्द्रभाग मिडिया

काठमाडौं ।

संसद् अवरोध खुलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को १८ गतेको बैठकमा सम्बोधन गर्ने भएका छन् । शुक्रबार सभामुख देवराज घिमिरेसहित बसेको प्रमुख प्रतिपक्ष, प्रतिपक्ष दल र सत्तापक्षीय दलका प्रमुख सचेतकहरू बीचको छलफलबाट यो सहमति जुटेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको थियो ।

बर्खास्तसँगै प्रतिपक्ष दलहरूले सदनमा अवरोध सिर्जना गर्दै संसद् अवरुद्ध पारेका छन् । उनीहरूले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चित्तबुझ्दो जवाफ दिएपछि मात्रै सदनको अवरोध हटाउने बताएका छन् ।

सरकार पक्षले भने सम्बन्धित मन्त्री र उपप्रधानमन्त्रीले सरकारको तर्फबाट उक्त विषयमा जवाफ दिने प्रस्ताव गरेको थियो । तर प्रतिपक्ष दलहरूले प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने भन्दै संसद् अवरुद्ध पार्दै आएका छन् ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले १८ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने र आइतबार बस्ने बैठक सहज रूपमा अघि बढ्ने सहमति भएको जानकारी दिए ।

उनले प्रतिपक्षी दलहरूको माग बमोजिम नै प्रधानमन्त्री ओलीले जवाफ दिने सहमति गर्दा समेत आजको बैठक बस्नबाट प्रतिपक्ष दलहरूले आनाकानी गरेको बताए ।

  • १५ चैत्र २०८१, शुक्रबार १५:४७ प्रकाशित