काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्याय टुंगोमा पुर्याउने क्रममा कसैले पनि राजनीति गर्न नहुने बताएका छन् । उनले पीडितहरुलाई केन्द्रमा राखेर शान्ति प्रक्रिया टुंगोमा पुर्याउनुपर्नेमा जोड दिए ।
संक्रमणकालीन न्यायसँग सम्बन्धित राष्ट्रिय सम्मेलनलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले नेपालको शान्ति प्रक्रिया मौलिक ढंगले अगाडि बढेको भन्दै द्वन्द्व पीडितहरुलाई न्याय दिने कुरालाई प्राथमिकता दिएर मात्रै शान्ति प्रक्रियालाई दिगो बनाउन सकिने धारणा राखे ।
द्वन्द्व पीडितहरुलाई केन्द्रमा राखेर संक्रमणकालीन न्याय टुंगोमा पुर्याउनुपर्छ भन्नेमा प्रमुख दलहरुबीच विमती नभएको पनि प्रचण्डले बताए ।
कहिले प्राविधिक, कहिले कानुनी, कहिले राजनीतिक समस्याका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न समय लागेको भन्दै उनले यसलाई पनि नेपालको मौलिक विशेषता अनुसार अगाडि बढ्ने विश्वास व्यक्त गरे ।














