काठमाडौँ ।
बर्दिबासका रेल्वे आयोजना पीडित ६ दिनदेखि आन्दोलनमा छन् । रेल आयोजनाबाट मुआब्जा नपाएको लगायतका विभिन्न समस्या समाधानको माग गर्दै बिहीबारदेखि उनीहरू रेल विभाग अगाडि धर्नामा छन् ।
रेल विभागका प्रवक्ता कमलकुमार साहले विभाले समस्या समाधानको लागि पहल गरिरहेको बताएका छन् ।
‘आन्दोलनमा आएपछि मुआब्जाको विषयमा छलफल भएको छ । मन्त्रालयसँग कुरा भइरहेको छ । आज पनि डिजीसाप मन्त्रालयमा छलफलको लागि जानु भएको छ । तत्काल समस्या समाधान हुन्छ हुँदैन भनेर केहि भन्न सकिँदैन,’ साहले भने,‘केहि निर्णय भइसकेको छैन । किनभने मुआब्जाको समस्या विभागले समाधान गर्ने होइन । मुआब्जा सम्बन्धी मुख्यकाम जिल्ला प्रशासन बाट भएकाले उहाँहरूको निवेदन भौतिक मन्त्रालयबाट गृह मन्त्रालय हुँदै महोत्तरी जिल्ला प्रशासन कार्यालयमा पठाइसकेको छ । त्यहीँबाट निकास निस्किन्छ कि?’
तर यो विषयमा आफू जानकार नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव केशवकुमार शर्माले यस विषयमा आफू जानकार नभएकाले उनीहरूको समस्या समाधानका लागि के–कस्तो पहल भइरहेको छ सो बारे रेलविभागबाटै बुझ्न आग्रह गरे ।














