नकारात्मक भावना फैलाउँदा बौद्धिक जमात चुप लागेर बस्न मिल्दैन : महासचिव पोखरेल

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान व्यवस्था प्रति नकारात्मक भावना फैलाउँदा देशको बौद्धिक जमात चुप लागेर बस्न नमिल्ने बताएका छन् । पोखरामा कृषि विकास बैंक कर्मचारी संघ नेपालको १० औं केन्द्रीय परिषद्को उद्घाटन पछि बोल्दै उनले भने यस्तो बताएका हुन् ।

देश बिग्रिएको भनेर गलत भाष्य स्थापित गर्न खोजिएको भन्दै उनले अहिलेको जमानामा तथ्य बंग्याउन नमिल्ने उल्लेख गरे । उनले राजाको पालामा देशको कुल ग्राहस्थ उत्पादन, प्रतिव्यक्ति आए, विद्युतको पहुँच, आधारभूत खानेपानी सुविधा देखि सडक पहुँचका साथै अन्य सबै विकाशका सूचक हेर्न र अहिलेको अवस्था हेरेर तथ्यमा बहस गर्न चुनौती दिए । देश राजाको पालामा ठिक थियो अहिले सबै विग्रियो भनिएको प्रति आपत्ति जनाउँदै उनले यस्ता कूरामा बौद्धिक बर्गले यथार्थ बाहिर ल्याउनुपर्नेमा जोड दिए ।

उनले युरोप, अमेरिकाको विकाससँग तुलना गरेर नेपालको प्रणालीप्रति निराशा प्रकट गर्ने काम भइरहेको धारणा राखे। ‘पहिले राम्रो थियो अहिले बर्बाद बनाए भन्ने कुरा गर्न थालेका छन् । पहिला के राम्रो थियो ? अहिले के बर्बाद बनाए भन्ने तथ्यमा कोही प्रवेश गर्नै खोजेको छैन,’ उनले भने, ‘यस्तो बेला बोद्धिक बर्गले चुप लागेर बस्ने होइन । यथार्थ तथ्य बाहिर ल्याउनु पर्दछ । अहिले एआईको जमाना हो । राजतन्त्रको पालाको डाटा दे भने एआईले दिन्छ अहिलेको दे भन्यो भनेपनि दिन्छ अनि तुलना गरेर हरौं ।’

अर्को प्रसंगमा उनले पढे–लेखेको पुस्ता कृषि क्षेत्रमा जान नखोज्नु देशमा बेरोजगारी बढ्नुको कारण भएको टिप्पणी गरे । देशमा कुनै समय ७० प्रतिशत जनसंख्या कृषिमा आबद्ध रहेको तर नयाँ पुस्ता कृषिसँग जोडिन नचाहेकाले सबैलाई रोजगारी सिर्जना गर्न नसकिएको उनले बताए । ‘पढे–लेखेको पुस्ता कृषिमा जान चाहँदैन । कुनैबेला हाम्रो ७० प्रतिशत जनसंख्या कृषिमा मात्र थियो,’ उनले भने, ‘एकैचोटी ७० प्रतिशत हिस्साका लागि रोजगारी सिर्जना गर्ने कुरा सम्भव छैन । नयाँ पुस्ता र नेपालको अर्थतन्त्रबीच तादम्यता बनाउन सकिएन ।’ निर्वाहमुखी उत्पादन पद्धतिमा परिवर्तन हुन नसक्दा नयाँ पुस्तामा निराशा बढेको उनले सुनाए ।

एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले कृषि विकास बैंकको समग्र विकास नै कर्मचारीको लक्ष्य हुनुपर्नेमा जोड दिए । श्रमिक कर्मचारीको सन्तुष्टिले नै बैंकले आफूलाई अब्बल बनाउन सक्ने उनको भनाइ थियो । उनले राष्ट्रिय पुँजी निर्माण नगरीकन समाजवाद नआउने उनले विश्लेषण सुनाए । उनले मुट्ठी भरका स्वर्ग गुमेकाहरूले राजतन्त्रको कूरा गरेको उनले बताए ।

नेकपा एमाले स्थायी कमिटी सदस्य किरण गुरूङले पेशागत हकहितका लागि सबै पेसागत संघ संगठनहरू एकतावद्ध भएर अगाडि बढ्नु पर्नेमा जोड दिए । राजतन्त्र फर्कन्छ भन्ने स्वयं राजावादीहरूलाई नै एक प्रतिशत विस्वास नरहेको भन्दै उनले एमाले विरूद्धमा विभिन्न ढंगले लागिएको उनको टिप्पणी छ । यद्यपि अस्थिरतालाई चिर्न सबै एकजुट हुनुपर्ने उनले धारणा राखे ।

संघीय सासंद दामोदर बैरागीले एमाले र यसका नेता माथि चौतर्फी प्रहार भइरहेकोबताए । उनले जसले भ्रष्टाचार गरेको छ उसले एमालेलाई भ्रष्ट भनेको टिप्पणी गरे । उनले ट्रेड युनियनलाई राजनीतिक अधिकारसहितको अधिकार दिनुपर्ने बताए ।

कृषि विकास बैंकका सिईओ गोविन्द गुरूङले आफूले बैंकको सिईओले संस्था रहेसम्म कर्मचारी र कर्मचारी रहेसम्म युनियन रहने बताए । बिगत दुई वर्षमा वार्ता र सम्बादबाट कर्मचारीका माग सम्बोधन गरिएको स्मरण गराए । उनले संगठनले राख्ने मागलाई घर सल्लाहको रूपमा लिने गरेको बताए ।

उद्घाटन सत्रमा कृषि विकास बैंक गण्डकी प्रदेशका निर्देशक घनेन्द्र अधिकारी, कृषि विकास बैंक कर्मचारी संघका पूर्वअध्यक्ष भोजराज भट्टराई, नेपाल बित्तिय संस्था कर्मचारी संघ कृषि विकास बैंकका अध्यक्ष रामबहादुर रावल, कृषि विकास बैंक कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष इन्द्रमणि ढुंगाना, कृषि बिकास बैंक कर्मचारी युनियनका प्रतिनिधि प्रेम गुरूङ, वरिष्ठ उपाध्यक्ष छगेन्द्र आचार्य लगायतले बोलेका थिए ।

उक्त अबसरमा पूर्वअध्यक्षहरू भोजराज भट्टराई, ताराखर अधिकारी, कविप्रसाद पाठक, जीलाल बस्याल, धु्र्व खनाल, कुल प्रसाद शर्मा, मोहिनी खनाल, बैंकका पूर्व उपमहाप्रबन्धक दीर्घबहादुर अधिकारीलाई सम्मान गरिएको थियो ।

कृषि विकास बैक कर्मचारी संघ गण्डकी प्रदेश अध्यक्ष सन्तोष थापाका अनुसार परिषदको उद्घाटनअघि प्रभातफेरी निकालिने जनाइएको थियो । होटल पौवाबाट सुरु भएको प्रभातफेरी वडा प्रहरी कार्यालय बैदाम, सहिदचोक पुगेर पुनः होटल पौवामै पुगेर उद्घाटन सत्रमा परिणत भएको हो ।

परिषदमा देशभरका ७७ जिल्लाका ६ सय भन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहेको संघका केन्द्रीय अध्यक्ष लिला जिसी क्षेत्रीले जानकारी दिए । परिषदले नया नेतृत्व चयन गर्नेछ ।

 

 

  • ११ चैत्र २०८१, सोमबार १५:५७ प्रकाशित