‘संविधानविरुद्धका कुनै पनि गतिविधि सह्य हुँदैनन्’ : संविधानसभा परिषद

केन्द्रभाग मिडिया

काठमाडौं ।

संविधानसभा परिषद् नेपालले नेपालको संविधानविरुद्ध हुने कुनै पनि गतिविधि सह्य नहुने बताएको छ । परिषद्ले सोमबार विज्ञप्ति जारी गर्दै संविधानबाट प्राप्त उपलब्धिका आधारमा थप उपलब्धि हासिल गर्न सकिने तर यसविरुद्ध हुने कुनै गतिविधि सह्य नहुने बताएको हो ।

पछिल्लो समय संविधानका व्यवस्थामाथि प्रश्न उठाउँदै प्रदर्शन र विरोधका कार्यक्रम भइरहेको र त्यसमा परिषद्को आपत्ति रहेको विज्ञप्तिमा उल्लेख छ ।

‘२००७ सालको राणाविरोधी क्रान्तिदेखि विभिन्न कालखण्डमा भएका सबैखाले आन्दोलनमा नेपाली जनताले उठाएका आवाजलाई संस्थागत गर्दै २०७२ असोज ३ गते संविधानसभाबाट निर्मित संघीय लोकतान्त्रिक गणतान्त्रात्मक शासन व्यवस्था, धर्म निरपेक्षता, समावेशी, समानुपातिक, मुल्य, मान्यतासहितको प्रमुख विशेषता भएको नेपालको संविधान नेपाली जनताको त्याग र बलिदानको परिणाम हो भन्ने हाम्रो संस्था संविधानसभा परिषद् नेपालको ठम्याइ छ,’ परिषद्ले भनेको छ, ‘यस संविधानबाट प्राप्त उपलब्धिको जगमा थप उपलब्धिका निम्ति संविधानको संरक्षण संवर्द्धन र विकास गर्न प्रतिबद्ध रहने हाम्रो दृढ संकल्प छ । संविधानका विरुद्ध हुने कुनै पनि गतिविधि सह्य हुँदैनन् भन्ने कुरा हामी सार्वजनिक गर्न चाहन्छौं ।’

सार्वभौम जनताका नाममा जारी संविधानले नेपालको स्वतन्त्रता, अधिकारलाई आत्मसात गरेको परिषद्को भनाइ छ । सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, जनताको सार्वभौम अधिकार, स्वायतता र स्वशासनको सुनिश्चितता गरेको पनि परिषद्को भनाइ छ ।

संविधानले नागरिक तथा राजनीतिक अधिकारका अतिरिक्त आर्थिक, सामाजिक, सांस्कृतिक र सामुदायिक अधिकारलाई पनि मौलिक हकको रुपमा प्रत्याभूत गरेको परिषद्को भनाइ छ । संविधानले राज्यका सबै अंग र निकायहरूमा समानुपातिक, समावेशी सहभागिता र सीमान्तकृत वर्गको प्रतिनिधित्वलाई सुनिश्चित गरेको पनि परिषद्ले स्मरण गराएको छ ।

  • ११ चैत्र २०८१, सोमबार १४:२१ प्रकाशित