काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले राजा फर्काउने दिवास्वप्न नदेख्न चेतावनी दिएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले दलहरूसँग निहुँ खोज्दा राजतन्त्र ढल्न पुगेको श्रेष्ठले बताए। उनले आफैँ निहुँ खोजेर पल्टिएको राजसंस्था फेरि फर्काउने दिवास्वप्न नदेख्न पूर्वराजालाई चेतावनी दिए ।
२०६२-०६३ को जनआन्दोलनमा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) पार्टीबाट सक्रिय सहभागिता जनाएका नेता श्रेष्ठले ज्ञानेन्द्रको कमजोरीकै कारण राजसंस्था नेपालबाट छिटै बिदाबारी हुन परेको तर्क गरे ।
‘२०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले दलहरूसँग निहुँ खोजेकाले नेपालबाट राजसंस्थाको सोचेभन्दा पहिल्यै अप्रत्याशित रूपले बहिर्गमन भएको हो,’ श्रेष्ठले भने, ‘शान्त रूपमा बसेको भए, खोपीको देउता जसरी बसेको भए राजाले गल्ती गर्दैन भन्ने आम मानिसलाई रहेको विश्वास नहटाएको भए त्यति छिटै नेपालमा गणतन्त्र आउँदैनथ्यो । राजसंस्था हट्दैनथ्यो ।’
राजा हुन नपाउँदै ज्ञानेन्द्रले आफू दाइ (उनीभन्दा अघिका राजा वीरेन्द्र शाह)जस्तो टुलुटुलु हेरेर नबस्ने बताएकाले दलहरू उनीविरुद्ध आन्दोलनमा होमिएको र अप्रत्यासितरूपमा राजतन्त्र बहिर्गमनमा परेको श्रेष्ठले बताए ।
‘२०६१ सालमा राजा आफैले निहुँ खोजेको हो, राजा हुन पाएको छैन म दाइजस्तो टुलुटुलु हेरेर बस्ने राजा होइन भने । निहुँ खोजेपछि दलहरूले आन्दोलन गर्न बाध्य भए, त्यसपछि उनीसँग नारायणहिटी दरबारबाट बहिर्गमनमा पर्नुको विकल्प रहेन,’ श्रेष्ठले भने ।














