पोखरा ।
गण्डकी प्रदेशको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि फागुन महिनासम्ममा कूल बजेटको करिब २८.९० प्रतिशत मात्र खर्च गर्न सकेको छ ।
प्रदेशको आर्थिक मामिला मन्त्रालयका उपसचिव डिल्लीराम रिज्यालका अनुसार चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजारको बजेट ल्याएकामा आठ महिना सकिँदा ९ अर्ब ५३ करोड ५ लाख ५९ हजार रूपैयाँ खर्च भएको छ । बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको छ । सो अवधिमा चालुतर्फ ३१.७६ प्रतिशत र पुँजीगततर्फ २७.४९ प्रतिशत बजेट खर्च भएको छ । चालू तर्फ ४ अर्व १८ करोड २ लाख ९६ हजार रूपैयाँ र पुँजीगत तर्फ ५ अर्व ३५ करोड २ लाख ६३ हजार रूपैयाँ खर्च भएको हो ।
चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले चालुतर्फ १३ अर्व, १४ करोड, एक लाख, ८२ हजार र पुँजीगत तर्फ १९ अर्व ५३ करोड,७४ लाख ९३ हजार बजेट छुट्याएको थियो । बजेट खर्च निराशाजनक देखिएपनि गत आर्थिक वर्षको यही अवधिको तुलनामा चालु आर्थिक वर्षमा खर्च गर्ने क्षमता बढेको उपसचिव रिज्यालले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षको यही अवधिमा २४.८२ प्रतिशत खर्च भएकामा चालु आर्थिक वर्षको यो अबधिमा बढेर २८.८९ प्रतिशत पुगेको हो । यो गत आर्थिक वर्षभन्दा करिवग ४ प्रतिशत बढी हो ।
उपसचिव रिज्यालले भौतिक प्रगति भने धेरै नै भएपनि वित्तिय प्रगति कम देखिएको बताए । खर्च सन्तोसजनक नरहेको स्वीकार गरेका उनले साउनबाट बजेट कार्यान्वयनमा गएपनि कानूनी प्रक्रिया पूरा गरेर ठेक्का प्रक्रियामा जानुपर्ने, ठूला आयोजनाको खरिद प्रक्रिया लामो रहेको र यसले समय लिने हुँदा पनि खर्च सन्तोषजनक हुन नसकेको उल्लेख गरे । अहिले केही दोहोरो परेका योजना र स्रोतको सिमितताका कारणले गर्दा २५ प्रतिशत खर्च रोक्काका लागि सूचना निकालिएको जस्ता विविध कारणले खर्च कम भएको उनले सुनाए ।