पोखरा १६ जोगीमणीमा पञ्चेबाजा वाद्यवादन तालिम सुरु

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिका वडा नं १६ को जोगीमणिमा पञ्चेबाजा संरक्षण, पुस्ता हस्तान्तरण र रोजगार सिर्जना गर्ने उद्देश्यले पञ्चेबाजा वाद्यवादन तालिम सुरु भएको छ । पछिल्लो समय पञ्चे बाजामा पुस्ता हस्तान्तरण हुन नसकेको र ब्यवसायिक रुपमा अगाडी वढिरहेको भएतापनि दलित समुदायहरु त्यसतर्फ अग्रसर नभइरहेको भन्दै पोखरा महानगरपालिका ब्यवसायिक प्रवद्र्धन केन्द्रले उचित स्थानको पहिचान गरी पञ्चेबाजा वाद्यवादन तालिम प्रदान गरि पञ्चेबाजा समेत हस्तान्तरण गर्दै आइरहेको छ ।

सोही अनुरुप पोखरा १६ को जोगीमणिमा रहेको दलित बस्तीलाई लक्षित गरी पञ्चेबाजा वाद्यवादन तालिम सञ्चालन गरिएको हो । सो तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं १६ का कार्यबाहक अध्यक्ष राजकुमारी बानियाँले पुराना लोक बाजाको संरक्षण संगै पञ्चेबाजालाई ब्यवसायिकता संग जोड्नका लागि पञ्चेबाजा वाद्यवादन तालिमले सहयोग पुग्ने बताइन । पोखरा १६ मा पञ्चेबाजा समुहलाई महानगरले पञ्चेबाजा तालिम संगै पञ्चेबाजा सेट हस्तान्तरण गर्ने कुरा आफैमा श्रहानिय काम भएको बताउदै पञ्चेबाजा समुहलाई वडाको तर्फबाट ड्रेसको समेत ब्यवस्था गर्ने बताइन ।

सो अवसरमा वोल्दै पोखरा महानगरपालिका आर्थिक बिकास महाशाखा प्रमुख मनहर कंडरियाले पुस्ता हस्तान्तरण संगै ब्यवसायिकतालाई समेत जोड दिनका लागि महानगरले पछिल्लो समय पञ्चेबाजा वाद्यवादन तालिम प्रदान गरिरहेको बताए । पञ्चेबाजा विभिन्न कार्यक्रमहरुमा प्रयोग हुने भएकाले तालिमबाट सिकेको कुरालाई ब्यवहारमा उतार्न सकेको खण्डमा यसको माग बढ्ने र ब्यवसायिक रुपमा पञ्चेबाजालाई अगाडी बढाउन सकिने उनको भनाइ थियो । सीप क्षमता अभिवृद्धि गरी रोजगार सिर्जना गर्नका लागिनै ब्यवसाय प्रवद्र्धन केन्द्रले काम गर्दै आइरहेको उनको भनाइ थियो ।

त्यस्तै पोखरा महानगरपालिका वडा नं १६ का वडा सदस्य मन्जु नेपालीले पोखरा महानगरपालिका ब्यवसाय प्रवद्र्धन केन्द्रले पञ्चेबाजा तालिमको प्रदान गरी पोखरा १६ जोगीमणी क्षेत्रका पुरुष तथा महिला दिदिबहिनीहरुलाई ब्यवसायिक सीप प्रदान गर्न लागेकोमा खुसी ब्यक्त गरिन । त्यस्तै ब्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले ब्यवसाय प्रवद्र्धन केन्द्रले उद्यमी बनाउने, क्षमता अभिवृद्धि गर्ने अभिप्राय सहित विभिन्न क्षेत्रमा काम गर्दै आइरहदा दलित र उत्पिडित समुदायलाई समेटेर पोखरा १६ को जोगीमणीमा पञ्चेबाजा वाद्यवादन तालिम प्रदान गरिएको बताए ।

अघिल्लो वर्ष महानगरभित्रका विभिन्न पाँच वटा समुहलाई पञ्चेबाजा वाद्यवादन तालिम प्रदान गरेकोमा उक्त समुहमा आवद्ध दिदिबहिनीहरुले वर्षमा ७० हजार सम्म कमाइ गरेको बताउदै पञ्चेबाजालाई रोजगार संग जोड्ने उद्देश्यले आफुहरुले तालिमको प्रदान गर्दै आइरहेको बताए । तालिममा विशेषगरी महिला दिदिबहिनीहरुलाई आवद्ध गराउन सकेको खण्डमा अझै राम्रो हुने उनको भनाइ रहेको थियो ।

  • ८ चैत्र २०८१, शुक्रबार १७:०३ प्रकाशित