पोखरा ।
पोखरा महानगरपालिका वडा नं २३ बाम्दीमा पञ्चेवाजा वाद्यवादन सम्बन्धी तालिम सुरु भएको छ । पञ्चेबाजा संगै संस्कृतिको संरक्षण, पुस्ता हस्तान्तरण र ब्यवसायिक रुपमा अगाडी बढाउनका लागि पोखरा महानगर ब्यवसाय प्रवद्र्धन केन्द्रले उक्त तालिमको आयोजना गरेको हो ।

पोखरा महानगरको ग्रामीण भेग वडा नं २३ बाम्दी क्षेत्रमा रहेको पुरुष तथा महिला दिदिबहिनीहरुलाई समेटेर सञ्चालन गरिएको उक्त तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २३ का अध्यक्ष रामकाजी गुरुङले पञ्चेबाजा वाद्यवादन सम्बन्धि तालिमले पञ्चेबाजाको क्षेत्रमा नया पुस्ता उत्पादनमा जोड दिदै ब्यवसायिकतालाई समेत जोड्ने बताए ।
पछिल्लो समय समाजमा हुने विभिन्न गतिविधीमा पञ्चेबाजाको प्रयोग बढ्दै गएकाले तालिममा सिकेको सीपलाई ब्यवहारमा उतार्न सके ब्यवसायिक रुपमा पञ्चेबाजालाई उपयोग गर्न सकिने बताए ।त्यस्तै पोखरा महानगरपालिका आर्थिक बिकास महाशाखा प्रमुख मनहर कंडरियाले पोखरा महानगर पालिकाले विभिन्न क्षेत्र र वर्गलाई लक्षित गरि विभिन्न किसिमको ब्यवसायिक तालिमहरु प्रदान गर्दै आइरहदा यो पटक पोखरा २३ का दलित तथा आर्थिक स्तर कम भएका दिदिबहिनीहरुलाई लक्षित गरी पञ्चेबाजा वाद्यवादन तालिमको आयोजना गरिएको बताए ।
महानगरले प्रदान गरेको तालिम स्वयं आफ्नै लागि भएकाले तालिममा सहभागी भएर स्वरोजगार बन्ने सुनौलो मौका भएको उल्लेख गरे । पञ्चेबाजाको माग पछिल्लो समय बढ्दै गएकाले यसलाई ब्यवसायीक रुपमा सञ्चालन गर्नुपर्छ भन्ने उद्देश्यले अघिल्लो वर्षदेखि यस्ता तालिमहरु प्रदान गर्दै आइरहेको उनको भनाइ रहेको थियो ।
पोखरा प्रज्ञा प्रतिष्ठानका कार्यालय प्रमुख मोतिराज पोख्रेलले पञ्चेबाजा लोक संस्कृतिमा आधारित रहेकाले यसको संरक्षण र प्रवद्र्धन संगै पुस्ता हस्तान्तरण आजको अवश्यक्ता रहेको बताए ।पोखरा महानगरपालिका वडा नं २३ का वडा सदस्य शान्ति शर्माले पोखरा २३ सांस्कृतिक धरोहरको थलो भएकाले महानगरले प्रदान गरेको पञ्चेबाजा वाद्यवादन तालिमले अझै यहांका पञ्चेबाजा समुहले नया पुस्ता हस्तान्तरणमा सहयोग पुग्ने बताइन ।
पोखरा महानगर ब्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले ब्यवसाय प्रवद्र्धन केन्द्रले अघिल्लो वर्षदेखि महानगरभित्र पञ्चेबाजालाई पुस्ता हस्तान्तरण संगै ब्यवसायिक बनाउनुपर्छ भनेर लागिरहेको बताउदै अघिल्लो वर्ष पाँच वटा वडामा उक्त कार्यक्रम सञ्चालन गरेको र पोखरा १४ मा रहेको महिला दिदिबहिनीहरुले पञ्चेबाजा बजाउने तालिममा सहभागी भएर अहिले ब्यवसायिक रुपमा पञ्चेबाजा बजाउने गरेको बताए । यो वर्ष पनि विभिन्न वडाहरुमा उक्त कार्यक्रम सञ्चालनमा रहेको उनको भनाइ रहेको थियो ।














