काठमाडौँ ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले आफ्ना मन्त्रीहरूलाई जनअपेक्षा अनुसार काम गर्न निर्देशन दिएको छ ।
लोसपा नेपालको हिजो बसेको सचिवालयको बैठकले सो सुझाव दिएको हो । लोसपा नेपालबाट सङ्घ तथा मधेश प्रदेश सरकारमा मन्त्रीहरू सहभागी छन् । प्रदेशदेखि केन्द्रसम्मको सरकारको आलोचना भइरहेको बेला लोसपा नेपालले सो सुझाव दिएको हो ।
लोसपा नेपालका महासचिव डा।सुरेन्द्र झाले जनअपेक्षा, जनहितमा सुशासन कार्यका लागि काम गर्न आफ्ना पार्टीका मन्त्रीहरूलाई सुझाव दिएको बताए । ‘खासगरी मधेस प्रदेशमा सरकारको निकै आलोचना भइरहेको छ, पार्टीका नेता तथा कार्यकर्ताले पनि असन्तुष्टि जनाइरहेका छन्, त्यो असन्तुष्टिलाई सम्बोधन हुने गरी कार्य गर्न पार्टीले सुझाव दिएको हो’ उनले भने ।
साथै सो पार्टीले अहिले गणतन्त्र, धर्मनिरपेक्षता तथा अन्य उपलब्धिमाथि जुन खालको प्रहार भइरहेको छ, त्यसमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।














