काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आम नागरिकको दैनिक जीवनसँग जोडिएका उपभोग्य एवम् प्रयोगमा आउने सामग्रीहरूको सहज र सुलभ आपूर्ति व्यवस्थापनको लागि बजार अनुगमनलाई नियमित गरिएको बताएका छन् । साथै महँगी नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहको पनि प्रधानमन्त्रीको भनाइ छ ।
प्रतिनिधि सभा बैठकमा सांसदले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले दुर्गम क्षेत्रमा अत्यावश्यक खाद्य वस्तुहरूको आपूर्तिको व्यवस्था मिलाइएको पनि बताए ।
‘बजारमा कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न बजार अनुगमन समिति सक्रिय बनाइएको छ। यसले मूल्यवृद्धि नियन्त्रणमा सहयोग पुर्याएको छ’, प्रधानमन्त्रीले भने, ‘उपभोक्ता अधिकारको संरक्षण एवम् न्यायिक निरूपणका लागि भर्खरै उपभोक्ता अदालतको स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।’
उनले ‘बढ्दो महँगी नियन्त्रण गर’ भन्ने नारा सधैँ लोकप्रिय हुने नारा भएको भन्दै महँगी घटिरहेको बेलामा पनि त्यो नारा चाहिँ लोकप्रिय नै हुने गरेको बताए ।














