एसइई परीक्षा आजदेखि, पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी हुँदै

गण्डकीबाट ४५ हजार ७ सय ९६ जना सहभागी हुने, कास्कीबाट ८ जना दृष्टिविहिन, २० जना श्रवणविहिन र १६ जना बाल सुधार गृहका विद्यार्थीले एसइई दिने

केन्द्रभाग मिडिया

पोखरा ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एक साथ अहिले बिहान ८ बजेदेखि एसइई आरम्भ हुन लागेको हो ।

परीक्षाको पूर्व निर्धारित तालिकाअनुसार पहिलो दिन परीक्षार्थीले अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा दिँदै छन् ।

यो वर्ष माध्यमिक शिक्षा परीक्षा एसईईमा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुन लागेको बोर्डले जनाएको छ । गएको वर्ष २०८० को एसइईमा चार लाख ६४ हजार ७८५ जना परीक्षार्थी सहभागी भएका थिए । यस्तै, यस वर्ष परीक्षार्थी सङ्ख्या पोहोर भन्दा ४९ हजार २८६ जना बढी हो ।

१५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटाउने व्यवस्था मिलाइएको छ । ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिको बोर्डले जानकारी दिएको छ ।

  • गण्डकीबाट ४५ हजार ७ सय ९६ विद्यार्थी सहभागी

यस वर्ष गण्डकी प्रदेशका १ हजार ३ सय ७४ विद्यालयबाट ४५ हजार ७ सय ९६ विद्यार्थी एसइई परीक्षामा सहभागी हुने शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशकी सुचना अधिकारी विमला कुमारी शर्माले जानकारी दिइन् ।

जसमा गण्डकी प्रदेशबाट नियमित तर्फ ३७ हजार १५, प्राविधिकतर्फ १३ सय ९० र ग्रेडवृद्धितर्फ ७ हजार ३ सय ९१ रहेको सुचना अधिकारी शर्माले जनाइन् । गण्डकी प्रदेश एसइईका लागि २०५ परीक्षा केन्द्र तोकिएको शर्माले बताईन् ।

यस वर्ष पनि गण्डकी अन्तर्गतका विद्यालयबाट एसर्ईई दिनेमा सबैभन्दा बढी कास्की जिल्ला र सबै भन्दा कम मनाङ जिल्लाका विद्यार्थी रहेका छन् । यसपाली कास्कीबाट ११ हजार ६० विद्यार्थीले एसइई परीक्षा दिदैँछन् । जसमा नियमित तर्फ ९ हजार ८ सय १, प्राविधिक तर्फ १ सय ९३ र ग्रेड वृद्धितर्फ १९३ विद्यार्थी रहेका छन् । कास्कीमा २९३ विद्यालय रहेकोमा ३६ वटा परीक्षा केन्द्र तोकिएको छ ।

मनाङका ४ विद्यालयबाट जम्मा ४६ विद्यार्थीले एसइई दिदैंछन् । जसमा २७ जना नियमित तर्फका, १४ जना प्राविधिक र ५ जना ग्रेडवृद्धिका विद्यार्थी रहेका छन् । मनाङमा १ वटा परीक्षा केन्द्र तोकिएको छ ।

यस्तै पर्वतका ९२ विद्यालयबाट २ हजार ३ सय ५ विद्यार्थी एसइईमा सहभागी हुने भएका छन् । जसमा नियमित तर्फका १ हजार ७ सय ४१, प्राविधिक तर्फका ५२ र ग्रेडवृद्धि तर्फका ५१२ विद्यार्थी छन् । पर्वतमा ९ वटा केन्द्र तय भएको छ ।

तनुहँका १७७ विद्यालयबाट ६ हजार ३ सय २ विद्यार्थीले परीक्षा दिने भएका छन् । तनहुँमा २६ केद्र तोकिएको छ । गोरखाका १४० विद्यालयका ४ हजार ४ सय ६२ विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । जसमा नियमित तर्फ ३ हजा ४ सय ४३, प्राविधिकका ९९ र ग्रेडवृद्धिका ९२० विद्यार्थी छन् । गोरखामा परीक्षा केन्द्र संख्या २३ रहेको छ ।

यस्तै स्याङ्जाका १ सय ७७ विद्यालयका ४ हजार ९ सय ७६ विद्यार्थीले परीक्षा दिनेछन् । जस अन्तर्गत ३ हजार ५ सय ७४ नियमित, १ सय ८६ प्राविधिक र १ हजार २ सय १६ जना ग्रेडवृद्धि तर्फका विद्यार्थी रहेका छन् । स्याङ्जामा २५ वटा परीक्षा केन्द्र तय भएको छ ।

मुस्ताङका १२ विद्यालयका १ सय ९९ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् र जसमा १७४ नियमित र ग्रेडवृद्धिका २५ जना रहेका छन् । मुस्ताङमा १ वटा परीक्षा केन्द्र तोकिएको छ । यस्तै म्याग्दीका ७६ विद्यालयका २ हजार २ सय १६ विद्यार्थीले एसइई परीक्षा दिनेछन् । जस अन्तर्गत नियमितका १ हजार ६ सय ८४, प्राविधिकको ९७ र ग्रेडवृद्धिका ४ सय ३७ विद्यार्थी रहेका छन् । म्याग्दीमा ९ वटा परीक्षा केन्द्र तोकिएको छ ।

बागलुङको १५३ विद्यालयबाट ४ हजार ८ सय ६७ विद्यार्थीले एसइई परीक्षा दिनेछन् । बागलुङमा नियमित तर्फका ३ हजार ८ सय ७९, प्राविधिक तर्फका १६६ र ग्रेडवृद्धिका २२ जना रहेका छन् । परीक्षा केन्द्र ३१ वटा तय भएको छ ।

यस्तै लमजुङका १ सय विद्यालयका २ हजार ९ सय ४१ जना विद्यार्थीले परीक्षा दिदैंछन् । त्यहाँ नियमितका २ हजार ३ सय १७, प्राविधिकका १ सय ९४ र ग्रेडवृद्धिका ४ सय ३० विद्यार्थी रहेका छन् । लमजुङमा १६ परीक्षा केन्द्र तोकिएको छ ।

त्यस्तै नवलपरासीका १५० विद्यालयका ६ हजार ४ सय २२ विद्यार्थीले एसईई परीक्षा दिने भएका छन् । जसमा नियमित तर्फ ५ हजार ५ सय ३१, प्राविधिक तर्फ २ सय ५६ र ग्रेडवृद्धिका ६३५ विद्यार्थी रहेका छन् । नवलपरासीमा २८ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

यसवर्ष कास्कीबाट ८ जना दृष्टिविहिन, २० जना श्रवणविहिन र १६ जना बाल सुधार गृहका विद्यार्थीले एसइई दिन लागेको शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले जानकारी दिए ।

 

 

  • ७ चैत्र २०८१, बिहीबार ०६:१८ प्रकाशित