काठमाडौँ ।
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्ने कम्पनीलाई कारबाही गर्न माग गरेका छन् ।
बैठकको शून्य समयमा सांसद इन्दिरादेवी गौतमले, उपभोग्य वस्तुहरु कतिपय गुणस्तरहीन खाद्यान्न र औषधि बिक्री भइरहेको समाचार आइरहेका छन् । सम्बन्धित निकायले गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्ने उद्योग तथा कम्पनीमा अनुगमन गर्नुपर्ने बताइन् ।
सांसद गङ्गाकुमारी बेल्वासेले लामो समयदेखि आन्दोलनरत शिक्षकको माग पूरा गर्न सरकारसँग माग गरिन् । उनले, अहिले शिक्षकहरू आन्दोलनमा छन, यसअघि शिक्षकसँग सरकारले गरेको सहमति कार्यान्वयन हुन सकिरहेको छैन, त्यो सहमति कार्यान्वयन गरी शिक्षकलाई काममा फर्काउन अनुरोध गरिन् । शैक्षिक क्षेत्रको सुधारसँगै विद्यार्थी हकहितको आन्दोलनलाई मर्यादित ढङ्गले अगाडि बढाउनुपर्नेमा समेत उनले जोड दिइन् ।
सांसद गोपीबहादुर सार्की अछामीले सरकारी स्वामित्वमा रहेका उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्ट कारखाना बन्द हुने अवस्थामा रहेको जनाउँदै सदनमार्फत सरकारको ध्यानाकर्षण गराए । उनले, उदयपुर सिमेन्ट कारखानाको पाँच अर्ब दायित्व सरकारले भुक्तान गर्न नसकिरहेको, कच्चा पदार्थ खरिद गर्न बजेट नभएको, तीन सयभन्दा बढी कर्मचारीले तलब नपाएको विषय सम्बोधन गरि उद्योग सञ्चालन गर्न माग गरे ।














