सञ्चालनको दुई वर्षपछि पोखरा विमानस्थलबाट पहिलो पटक व्यवसायिक उडान

केन्द्रभाग मिडिया

पोखरा ।

विमानस्थल सञ्चालनको दुई वर्षपछि पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट पहिलो पटक चीनको सिचुवान प्रान्तको छेन्दुतर्फ व्यवसायिक उडान सुरु भएको छ । नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थामा पहिलोपटक सिचुवान एयरलायन्सको जहाजबाट १ सय २६ यात्रु लिएर पोखराबाट छुन्दु उडेको हो ।

निजी क्षेत्रका पर्यटन व्यवसायीहरूको विशेष पहल, पोखरा पर्यटन परिषद्को नेतृत्वमा पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, सिचुवान एयरलायन्स र नेपालस्थित चाइनिज एशोसिएशनको सहकार्यमा पहिलो व्यवसायिक चाटर्ड उडान मंगलबारबाट सुरु भएको हो ।

उक्त अवसरमा वोल्दै चिनिया राजदुत छेन सङले पर्यटकीय शहर पोखराबाट पहिलो पटक चीनको सिचुवान प्रान्तमा ब्यवसायिक उडान सुरु गरेकोमा खुसी ब्यक्त गरे । सङले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको बेला तीन महिना अगाडी पोखराबाट चिन सिधा हवाइ उडान सञ्चालन गर्ने उद्घोष अनुसार नै चीनको छेन्दु शहर र पोखरा बीच सिधा अन्तराष्ट्रिय उडान सुरु भएकोमा खुसी ब्यक्त गरे ।

सो अवसरमा वोल्दै पोखरा महानगरका प्रमुख धनराज आचार्यले चीनको सिचुवान प्रान्तमा सुरु भएको उडानले पोखरा भ्रमण वर्ष २०२५ लाई बल दिने र पोखरालाई पर्यटन राजधानीका रूपमा विकास गर्न सघाउने बताएका छन । चीनबाट मात्र नभइ दक्षिणतर्फको मित्रराष्ट्र भारतबाट समे उडानका लागि आफ्नो तर्फबाट समन्वय गर्ने मेयर आचार्यको भनाइ छ ।

पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईका अनुसार चीनको सिचुवान प्रान्तमा हुने सिधा उडानबाट पोखरामा चिनिया पर्यटक भित्रिन सहयोग पुग्ने बताए । सिचुवान प्रान्त ९ करोड जनसंख्या भएको प्रान्त भएकाले त्यहांका जनतालाई पोखरामा भ्रमण गराउन सकिने हो भने पोखरामा चिनिया पर्यटकको संख्या बढ्ने उनको भनाइ रहेको थियो ।  सिचुवान एयरलायन्सले छेन्दुबाट तीन महिना उडान गर्ने सुनिश्चित गरिसकेको छ । आगामी तीन महिनाभित्र करिब १२ सय ५० चिनियाँ पर्यटक सिचुवान प्रान्तबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आउने अनुमान गरिएको छ ।

नेपाल पर्यटन बोर्डले नेपाली महावाणिज्य दूतावास छेन्दुसँगको सहकार्यमा छेन्दु र छाउछिङमा क्रमशः १९ र २२ मार्चमा नेपाल इभिङ र ‘सेल्स मिसन’ आयोजना गर्ने योजना बनाएको छ । पोखराबाट पहिलो चाटर्ड उडानसँगै गरिने यी कार्यक्रमहरूले पोखरासहित समग्र नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

 

  • ४ चैत्र २०८१, मंगलवार १८:१३ प्रकाशित