स्ववियु निर्वाचन

उम्मेदवारकै नाम नभेटिएपछि पीएनमा तनाव, मतदान सुरु नै भएन

केन्द्रभाग मिडिया

पोखरा ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आंगिक र सम्बन्धनप्राप्त अधिकांश कलेजहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अहिले मतदान चलिरहेको छ ।

बिहान आठ बजेदेखि ४६ आङ्गिक र दुईसय ५० सम्बन्धनप्राप्त कलेजमा निर्वाचन सुरु भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए । संघीय राजधानी काठमाडौं बाहिरको चर्चित र धेरै विद्यार्थी अध्ययन गर्ने त्रिविको आंगिक क्याप्पस पृथ्वीनारायण क्याम्पसमा भने यो समाचार तयार पार्दा (विहान ११ बजे) सम्म निर्वाचन अन्तर्गत मतदान पक्रिया अगाडि बढ्न सकेको छैन । निर्वाचन समितिका एक सदस्यका अनुसार मतपत्रमा भुलबस अनेरास्ववियु छैटौंका उम्मेदवारको कोलम नै छुटेपछि पृथ्वी नारायण क्याम्पसमा मतदान प्रक्रिया अगाडि बढ्न नसकेको हो ।

मतदान प्रक्रिया रोकिएपछि अहिले विद्यार्थी संगठनहरुले क्याम्पस गेट अगाडि नाराबाजी गरिरहेका छन् । उनीहरुले छिटो मतदान प्रक्रिया अगाडि बढाउन माग गरेका छन् भने निर्वाचन समितिले एक/डेढ घण्टामा नयाँ मतपत्र तयार गरेरै मतदान पक्रिया अगाडि बढाउने बताएको छ ।

त्रिविमा २०१८–१९ देखि प्रत्यक्ष प्रणालीबाट निर्वाचन हुँदै आएकामा २०३० सालसम्म प्रत्येक वर्ष र २०३६ सालदेखि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन थालेको हो । तर, पोखराको पृथ्वी नारायण क्याम्पसमा १६ वर्षदेखि स्ववियु निर्वाचन हुन सकेको छैन ।

 

  • ४ चैत्र २०८१, मंगलवार १०:५२ प्रकाशित