पोखरा प्रदर्शनी केन्द्रमा हरित रोजगारी सिर्जना परियोजनाको शिलान्यास

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरको आयोजनामा रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना जीसीआरयू परियोजनाको शिलान्यास सम्पन्न भएको छ । सोमबार एक कार्यक्रमका बीच पोखरा महानगरका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, कोइकाका कन्ट्री डाइरेक्टर मोहेन कोंङ, युएनडीपीका एशिया डेपुटी रिजनल डाइरेक्टर क्रिस्टोफर बहाइटले उक्त परियोजनाको शिलान्यास गरेका हुन ।

पोखराको बीच भागमा रहेको पोखरा प्रदर्शनी केन्द्रमा समुदायलाई समावेश गरेर रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी परियोजनाको शिलान्यास गरिएको हो । सो अवसरमा वोल्दै पोखरा महानगरका प्रमुख धनराज आचार्यले समुदायलाई समावेश गरी प्रयोग गर्न छाडेका बस्तुलाई पुन प्रयोग गर्ने उद्देश्यले परियोजना सञ्चालन गर्न लागिएको बताए । पोखरा आउने पर्यटकलाई घुम्ने ठाँउको बिकास गरी घरघरमा खेर गइरहेका सामाग्रीहरुलाई सदुपयोग गरी नया प्रविधीको प्रयोग मार्फत सामाग्रीहरु निर्माण गरी उक्त परियोजना सञ्चालन गरिने मेयर आचार्यको भनाइ रहेको थियो ।

परियोजना सञ्चालन भइरहदा प्रदर्शनी केन्द्रलाई भने यथावत रुपमा राख्ने र परियोजना अन्तर्गत नेपालकै नमुना र भुकम्प प्रतिरोधात्मक भवन र उक्त भवनमा सिकाइ संगै आर्थिक उपार्जनका क्रियाकलापहरु सञ्चालन गरिने छ । महानगर क्षेत्रका १३६ वटा समूहहरू मार्फत पुनः प्रयोगमा आउने सामाग्रीहरू निर्माण गरी आर्थिक रूपमा सामुदायिक सशक्तीकरण समेत हुने मेयर आचार्यले बताए । परियोजनाको पहिलो चरणमा ३ हजार बढी प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी सृजना हुने उनको भनाइ थियो ।

कोइकाका कन्ट्री डाइरेक्टर मोहेन कोंङले पर्यटकीय राजधानी पोखरामा रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी परियोजनाको शिलान्यास सम्पन्न भएकोमा पोखरा महानगरका प्रतिनिधीलाई धन्यवाद ब्यक्त गरे । कोइकाको सहयोगमा समुदायलाई एकीकृत गरी आयोजना गरिएको परियोजनाले फोहोर ब्यवस्थापन मात्र नभइ फोहोरलाई मोहरमा परिवर्तन गराउने ठूलो परियोजना भएको बताउदै कोरियन सरकारको सहयोगमा ९ दशमलव ८ मिलियन डलर लागतमा कार्यक्रम सम्पन्न हुने बताए । उक्त सहयोगले परियोजना मात्र सम्पन्न नभइ पोखरा महानगरका बासिन्दा लाभान्वित हुने र धेरैले रोजगार पाउने भएकाले अर्थतन्त्रमा समेत ठूलो सहयोग पुग्ने उनको भनाइ थियो । फोहोर ब्यवस्थापन आजको चुनौती भइरहदा हरित रोजगारी परियोजनाले पोखराको फोहोर ब्यवस्थापनमा समेत थप सहयोग पुग्ने उनले बताए ।

त्यस्तै युएनडीपीका एशिया डेपुटि रिजनल डाइरेक्टर क्रिस्टोफर बहाइटले कोइका र युएनडीपीको सहयोगमा नेपालको पर्यटकीय राजधानी शहरमा हरित रोजगारी परियोजनाले युवाहरुलाई प्रत्यक्ष रोजगारमा समावेश गर्न सहयोग पुग्ने बताए । अन्य परियोजना भन्दा यो परियोजना फरक रहेको बताउदै बहाइटले फोहोरलाई रिसाइकल र अपसाइकल गराइ समुदाय स्तरमा रोजगार प्रदान गर्नु आफैमा श्रहानिय काम हुने उनको भनाइ रहेको थियो ।

त्यस्तै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले समुदाय स्तरमा रोजगारी प्रदान गर्ने उद्देश्य सहित हरित रोजगारी परियोजना आउनु आफैमा महत्वपूर्ण भएकाले उक्त परियोजनालाई समयमै निर्माण सम्पन्न गराउन निर्माण कम्पनीलाई आग्रह गरे ।

त्यस्तै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले हरित रोजगारी परियोजनाले पोखरा महानगर भित्र रहेका समुदायहरुलाई रोजगारमा उत्प्रेरित गराउन थप मदत पुग्ने बताए । लामो समय सम्म पोखरा उद्योग वाणिज्य संघले भोग चलन गर्दै आइरहेको पोखरा प्रदर्शनी केन्द्रमा ठूलो परियोजना आउनु र त्यसमा पनि समुदाय स्तरलाई समेत समेटेर रोजगार सहितको ठूलो परियोजना सञ्चालन हुदा यसले अर्थतन्त्रमा समेत थप टेवा पुग्ने कार्कीको भनाई थियो ।

सो अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नं ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले परियोजनाको मुख्य उद्देश्य भनेको पोखरा महानगर भित्रको फोहोरलाई मोहरमा परिणत गरी पोखरा कोसेली घरको निर्माण गर्ने बताए । उक्त परियोजनाले कोरिया र नेपाल बीचको सम्बन्धलाई थप सुमधुर बनाउने र समुदाय स्तरमानै रोजगार सिर्जना गर्ने उनको भनाइ रहेको थियो ।

सो अवसरमा वोल्दै पोखरा महानगरका उप प्रमुख मञ्जुदेवी गुरुङले उक्त परियोजना आफ्नो अघिल्लो कार्यकालमानै लागु गर्ने तयारी भएको भएतापनि तत्कालिन मेयर मान बहादुर जिसीको स्वास्थ्य अवस्थामा समस्या देखिएका कारण यो परियोजना पोष्टपोण्ड भएर हाल सञ्चालनमा आएको बताइन ।

  • ३ चैत्र २०८१, सोमबार २०:४५ प्रकाशित