पोखरा ।
यही चैत ७ गतेबाट देशभर एकैसाथ सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईईको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिए । बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक जिल्लामा पुगिसकेको जानकारी दिएको छ ।
यस वर्ष गण्डकी प्रदेशका १ हजार ३ सय ७४ विद्यालयबाट ४५ हजार ७ सय ९६ विद्यार्थी एसईई परीक्षामा सहभागी हुने शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशकी सुचना अधिकारी विमला कुमारी शर्माले केन्द्रभाग डटकमलाई जानकारी दिइन् ।
जसमा गण्डकी प्रदेशबाट नियमित तर्फ ३७ हजार १५, प्राविधिकतर्फ १३ सय ९० र ग्रेडवृद्धितर्फ ७ हजार ३ सय ९१ रहेको सुचना अधिकारी शर्माले जनाइन् । गण्डकी प्रदेश एसईईका लागि २०५ परीक्षा केन्द्र तोकिएको शर्माले बताईन् ।
यस वर्ष पनि गण्डकी अन्तर्गतका विद्यालयबाट एसर्ईई दिनेमा सबैभन्दा बढी कास्की जिल्ला र सबै भन्दा कम मनाङ जिल्लाका विद्यार्थी रहेका छन् । यसपाली कास्कीबाट ११ हजार ६० विद्यार्थीले एसईई परीक्षा दिदैँछन् । जसमा नियमित तर्फ ९ हजार ८ सय १, प्राविधिक तर्फ १ सय ९३ र ग्रेड वृद्धितर्फ १९३ विद्यार्थी रहेका छन् । कास्कीमा २९३ विद्यालय रहेकोमा ३६ वटा परीक्षा केन्द्र तोकिएको छ ।
मनाङका ४ विद्यालयबाट जम्मा ४६ विद्यार्थीले एसईई दिदैंछन् । जसमा २७ जना नियमित तर्फका, १४ जना प्राविधिक र ५ जना ग्रेडवृद्धिका विद्यार्थी रहेका छन् । मनाङमा १ वटा परीक्षा केन्द्र तोकिएको छ ।
यस्तै पर्वतका ९२ विद्यालयबाट २ हजार ३ सय ५ विद्यार्थी एसईईमा सहभागी हुने भएका छन् । जसमा नियमित तर्फका १ हजार ७ सय ४१, प्राविधिक तर्फका ५२ र ग्रेडवृद्धि तर्फका ५१२ विद्यार्थी छन् । पर्वतमा ९ वटा केन्द्र तय भएको छ ।
तनुहँका १७७ विद्यालयबाट ६ हजार ३ सय २ विद्यार्थीले परीक्षा दिने भएका छन् । तनहुँमा २६ केद्र तोकिएको छ । गोरखाका १४० विद्यालयका ४ हजार ४ सय ६२ विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । जसमा नियमित तर्फ ३ हजा ४ सय ४३, प्राविधिकका ९९ र ग्रेडवृद्धिका ९२० विद्यार्थी छन् । गोरखामा परीक्षा केन्द्र संख्या २३ रहेको छ ।
यस्तै स्याङ्जाका १ सय ७७ विद्यालयका ४ हजार ९ सय ७६ विद्यार्थीले परीक्षा दिनेछन् । जस अन्तर्गत ३ हजार ५ सय ७४ नियमित, १ सय ८६ प्राविधिक र १ हजार २ सय १६ जना ग्रेडवृद्धि तर्फका विद्यार्थी रहेका छन् । स्याङ्जामा २५ वटा परीक्षा केन्द्र तय भएको छ ।
मुस्ताङका १२ विद्यालयका १ सय ९९ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् र जसमा १७४ नियमित र ग्रेडवृद्धिका २५ जना रहेका छन् । मुस्ताङमा १ वटा परीक्षा केन्द्र तोकिएको छ । यस्तै म्याग्दीका ७६ विद्यालयका २ हजार २ सय १६ विद्यार्थीले एसईई परीक्षा दिनेछन् । जस अन्तर्गत नियमितका १ हजार ६ सय ८४, प्राविधिकको ९७ र ग्रेडवृद्धिका ४ सय ३७ विद्यार्थी रहेका छन् । म्याग्दीमा ९ वटा परीक्षा केन्द्र तोकिएको छ ।
बागलुङको १५३ विद्यालयबाट ४ हजार ८ सय ६७ विद्यार्थीले एसईई परीक्षा दिनेछन् । बागलुङमा नियमित तर्फका ३ हजार ८ सय ७९, प्राविधिक तर्फका १६६ र ग्रेडवृद्धिका २२ जना रहेका छन् । परीक्षा केन्द्र ३१ वटा तय भएको छ ।
यस्तै लमजुङका १ सय विद्यालयका २ हजार ९ सय ४१ जना विद्यार्थीले परीक्षा दिदैंछन् । त्यहाँ नियमितका २ हजार ३ सय १७, प्राविधिकका १ सय ९४ र ग्रेडवृद्धिका ४ सय ३० विद्यार्थी रहेका छन् । लमजुङमा १६ परीक्षा केन्द्र तोकिएको छ ।
त्यस्तै नवलपरासीका १५० विद्यालयका ६ हजार ४ सय २२ विद्यार्थीले एसईई परीक्षा दिने भएका छन् । जसमा नियमित तर्फ ५ हजार ५ सय ३१, प्राविधिक तर्फ २ सय ५६ र ग्रेडवृद्धिका ६३५ विद्यार्थी रहेका छन् । नवलपरासीमा २८ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
यसवर्ष कास्कीबाट ८ जना दृष्टिविहिन, २० जना श्रवणविहिन र १६ जना बाल सुधार गृहका विद्यार्थीले एसईई दिन लागेको शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले केन्द्रभाग डटकमलाई जानकारी दिए ।
यसवर्षको परीक्षामा देशभरीबाट पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए।
गतवर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार सात सय ८५ परीक्षार्थी सहभागी भएकोमा यसवर्ष ४९ हजार दुई सय ८६ जनाले वृद्धि भएको पौडेलले बताएका छन् ।
कार्यालयले यसवर्षको एसइई परीक्षाका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षामा एक सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष हुने छन् भने २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिने भएका छन् । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिने जनाइएको छ ।
यो पल्टको एसइईमा बाल सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र निर्धारण गरेको छ । यसपाली कीर्तिपुस्थित सफलता एचआईभी शिक्षा सदनबाट पनि विद्यार्थी सहभागी हुने भएका छन् भने यहाँबाट चार जना एचआइभी सङ्क्रमित विद्यार्थीले एसइई परीक्षा दिने भएका छन् ।
परीक्षा चैत ७ गतेदेखि सुरु भएर १९ गते सकिने भएको छ भने परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा तालिकानुसार पहिलो दिन चैत ७ गते अनिवार्य अंग्रेजी विषय, सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ ।
चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीहरूका लागि अंग्रेजी ९इलेक्टिभ इङलिस० को परीक्षा हुनेछ । चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि एवं संस्कृततर्फ शुक्लयजुर्वेद‚ सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ । १३ गते अनिवार्य सामाजिक, १४ गते ऐच्छिक प्रथम, १५ गते ऐच्छिक द्धितियको परीक्षा सञ्चालन हुनेछ ।
लेटर ग्रेडिङ प्रणालीमै यसवर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्न तयारी गरिएको छभने चैत १९ सम्म सञ्चालन परीक्षाको नतिजामा उत्तीर्ण दरमा ७० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । २०८० सालको एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी उत्तिर्ण भएका थिए ।