म्यासेडोनियाको नाइट क्लबमा आगलागी, ५१ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

File photo

काठमाडौँं ।

म्यासेडोनियाको एक नाइट क्लबमा आगलागी हुँदा कम्तिमा ५१ जनाको ज्यान गएको छ । आगलागीमा कम्तीमा सय जना घाइते भएको अधिकारीहरूले जनाएका छन् ।

बीबीसीका अनुसार राजधानी स्कोपियबाट करिब सय किलोमिटर पूर्वमा रहेको कोकानी सहरको पल्स क्लबमा स्थानीय समयअनुसार विहान ३ बजे आगो फैलिएको हो । सामाजिक सञ्जालमा पोस्ट गरिएका फुटेजमा भवन आगोको लप्काले ढाकिएको देखिन्छ ।

आगालागीको समयमा क्लबमा म्यासेडोनियाको लोकप्रिय हिप-हप ब्यान्ड ‘एडीएन’को कन्सर्टमा आयोजना भइरहेको थियो । स्थानीय अधिकारीले कन्सर्टमा १ हजार ५ जनाको उपस्थिति रहेको जनाएका छन् ।

स्थानीय मिडियाले आतिशबाजी उपकरणहरूको प्रयोगका कारण आगलागी फैलिएको अनुमान गरेका छन् । सार्वजिनक भएका दृष्यहरूमा स्टेजबाट निस्केका आगोका झिल्काहरू फैलिएको देख्न सकिन्छ ।

गृहमन्त्री पान्स तोस्कोभ्स्कीले घटनाबारे अनुसन्धान सुरू भएको र केही पक्राउ परेको बताएका छन् ।

प्रधानमन्त्री ह्रिस्टिजान मिकोस्कीले विज्ञप्ति जारी गर्दै धेरै युवाहरूले जीवन गुमाउनु ‘देशको लागि कठिन र धेरै दुखस्द दिन’ भएको जनाएका छन् । उनले घटनाबारे अनुसन्धानका लागि सरकार क्रियाशिल रहेको र यस्ता त्रासदीका कारणहरू निर्धारण गर्न आवश्यक कार्य गर्ने बताएका छन् ।

घाइतेमध्ये ९० जनालाई कोकानीस्थित अस्पतालमा भर्ना गरिएको छ ।

  • २ चैत्र २०८१, आईतवार १६:४१ प्रकाशित