‘व्याक टु नाइन्टिज’ लाई वालिङमा दर्शकको अभूतपूर्व साथ

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराबाट शुरु भएको ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दाले स्याङ्जाको वालिङमा दर्शकको अपार साथ प्राप्त गरेको छ । पोखराको अपार सफलतापछि देशव्यापी अभियान शुरु गरेको ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन वालिङमा दर्शकको अभूतपूर्व साथ पाउँदै सम्पन्न भएको हो ।

चेम्बर अफ कमर्स वालिङको आयोजनामा जारी ‘प्रथम पिङ्क सिटी महोत्सवको अवसर पारेर आयोजित ‘व्याक टु नाइन्टिज’मा करीब १० हजार दर्शक सहभागी भए । नब्बेको दशकमा उदाएर राष्ट्रिय/अन्र्तराष्ट्रिय ख्याती कमाउन सफल डि–मर्चा, लेकाली, देउराली, ब्रोसिस, मध्याह्न र भेगाबोण्ड व्याण्ड वालिङमा गुञ्जिदा दर्शकहरु मन्त्रमुग्ध भए ।

साँझ करीब ५ः३० बजेदेखि ‘व्याक टु नाइन्टिज’का कलाकारहरुले स्टेज चढ्न शुरु गरे । कार्यक्रम सञ्चालक मनकुमार श्रेष्ठले व्याण्डहरुको नाम भन्नेवित्तिकै दर्शकहरुको सहमतिमा हुटिङ आउँथ्यो । शुरुमा स्टेज चढेका भेगावोण्ड ब्याण्डका श्यामसुङ तामाङलाई दर्शकले न्यानो माया दर्शाए । प्रस्तुतीको पहिलो गीत ‘जीवन हो घामछायाँ’लाई दर्शकले उनीसँगै गीत गाएर साथ दिए । दोश्रो प्रस्तुतीको रुपमा देउराली व्याण्डका शान्तराज बज्राचार्यले ‘ढुंगेसाँघुको मेलामा’ गाउँदा होस् वा ‘लुकीचोरी’लगायतका आधा दर्जन गीत गाउँदा दर्शक वाईल्ड भइसकेका थिए । तेश्रो प्रस्तुतीका रुपमा ब्रोसिस व्याण्डका प्रकाश रानाले ‘बस सुन्दरी’, ‘चाईना कम्पनी’लगायत गीत गाउँदा दर्शकले भरपुर मनोरञ्जन लिए । चौथो प्रस्तुतीका रुपमा लेकाली व्याण्डका हर्कराज गुरुङ (भाई) र नविन गुरुङले ‘यो मुटुमा’, ‘पहिलो नजर’लगायतका गीतहरु गाउँदा दर्शकको हुटिङ पायो ।

पाँचौ प्रस्तुतीका रुपमा मध्याह्न व्याण्डका कर्णदासले ‘मनमनै मनपराई सकेछु’, ‘जिन्दगीको के भरोसा’लगायतका चर्चित गीतहरु गाउँदा दर्शकहरु नोस्टाल्जिक भए । छैटौं तथा अन्तिम प्रस्तुतीका रुपमा स्टेज चढेका डि–मर्चा व्याण्डका भाष्करध्वज श्रेष्ठले ‘शिवजीको बस्ती छ’बाट प्रस्तुती शुरु गर्दा दर्शकको अपार माया पायो । त्यसपछि ‘यो डल्लीले हो मानिन जान’, ‘तारा खस्यौली’ ‘झ्याम्म झ्याम्म’लगायतका गीतहरु गाउँदा दर्शकले पटक÷पटक वान्समोरको हुटिङ गुञ्जिरह्यो । जहाँ दर्शकले आफूलाई ९० को दशकमा फर्किएर आफू हुर्किएको समय, परिवेश र माया, पिरती साट्दाको समयसँग रिलेट गर्दै मनोरञ्जन लिएको कार्यक्रम संयोजक मनकुमार श्रेष्ठले बताए । ‘विगतको समय पुर्नताजगीहुँदा उहाँहरु मज्जाले झुम्नुभयो अनि रम्नुभयो ।’

वालिङमा वालिङ चेम्बर अफ कमर्सको मुख्य आयोजना, ट्रिनिटी क्लव वालिङसँगको सहकार्य र स्थानिय व्यवसायी तथा समाजसेवीहरु बिजय मल्ल, बिजयविक्रम खाँड, सुनिल खनाल, टेकबहादुर कार्की, बिरेन्द्र केसी र सोनी खानको विशेष सहयोगमा कार्यक्रम भएको हो ।

वालिङको कार्यक्रमसँगै ‘व्याक टु नाइन्टिज’को देशव्यापी अभियान शुरु भएको छ । ‘व्याक टु नाइन्टिज’को तेश्रो एडिसनको रुपमा गोरखामा नया वर्ष २०८२ प्रारम्भको अघिल्लो साँझ चैत ३१ गते, लमजुङको बेशीसहरमा नया वर्ष २०८२ को स्वागतार्थ बैशाख १ गते हुने कार्यक्रम संयोजक मनकुमार श्रेष्ठले जानकारी दिए । त्यसलगत्तै म्याग्दीको बेनी, चितवन भरतपुरको नारायणी किनार, विराटनगर, ईलाम, विर्तामोड, भक्तपुर, ललितपुर र काठमाडौंलगायतका ठाउँमापनि गर्ने तयारीमा रहेको उनले बताए ।

कार्यक्रममार्फत संघले सुसुप्त अवस्थामा रहेका पुराना सांगीतिक व्याण्डहरुको पुर्नजागरण गर्ने र नया पुस्तालाई संगीतमा लागेरपनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश दिदै पर्यटनको राजधानी पोखरालाई रिब्राण्डिङ गर्ने, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने, गीत, सङ्गीतमार्फत् निराशाको निवारण र आशाको धुन सञ्चार गर्नेलगायतका उद्देश्य रहेको छ । अभियानमा पोखरा महानगरपालिका प्रवद्र्धकका रुपमा रहनेछ ।

  • १ चैत्र २०८१, शनिबार १७:०२ प्रकाशित