काठमाडौं ।
समाजवादी मोर्चा, नेपालले सरकारको गतिहीनताका कारण संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षामा चुनौती देखा परेको आरोप लगाएको छ । यही १५ चैतमा आयोजित बृहत् विरोध सभाबारे जानकारी दिन शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत मोर्चाले यस्तो आरोप लगाएको हो ।
संघीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहिनता, सरकारको मनोमानी, जनहितविपरितका क्रियाकलापका कारण नागरिकमा उत्पन्न असन्तुष्टिलाई देखाएर प्रतिगामी शक्तिले राजतन्त्र पुनर्स्थापनाका लागि षड्यन्त्र गरिरहेको मोर्चाको ठहर छ ।
‘यसको सशक्त प्रतिवाद गर्नु, गणतन्त्रको रक्षा गर्नु र नेपाली विशेषताको समाजवादको दिशामा अगाडि बढ्नु वर्तमान राष्ट्रिय राजनीतिको मुख्य कार्यभार बन्न गएको छ,’ पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ ।
देशको विषम परिस्थितिमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि प्रतिगामी र पुनरुत्थानवादी षड्यन्त्रविरुद्ध एकता, सहकार्य र संयुक्त विरोध आन्दोलनको नेतृत्व समाजवादी मोर्चाले गर्नु अहिलेको वस्तुस्थितिको अहम् जिम्मेवारी बन्न गएको विज्ञप्तिमा उल्लेख छ ।
‘यसका लागि चैत १५ गते काठमाडौंमा विशाल विरोध प्रदर्शनसहितको जनसभा आयोजना गरिएको छ । सभामा सहभागी भइ समाजवादी मोर्चा, नेपालमा सम्बद्ध पार्टी, सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्ति एकजुट भएर प्रतिगमन र प्रतिक्रियावादीहरूको षड्यन्त्रलाई विफल पार्न सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई हार्दिक अपील गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।