काठमाडौं ।
विपक्षी दलहरूले संसद्को सार्वजनिक लेखा समितिको बैठक बोलाउन माग गरेका छन् ।छलफलका लागि अनेक विषय रहेको तर बैठक नराखेको भनेर विपक्षी दलहरूले सभापति ऋषिकेश पोखरेलको ध्यानाकर्षण गर्दै आएका छन् ।
मैले हिजो मात्रै सभापतिसँग कुरा गरेँ र बैठक राख्न भनेको छु । विपक्षी दलहरू बैठक राख्न भनिरहेका छन् तर, सभापतिले बैठक बोलाउनु भएको छैन,’ माओवादी सांसद लेखनाथ दाहालले भने ।
दाहालका अनुसार उनले पोखरा र भैरहवा विमानस्थलको स्थलगत अनुगमन प्रतिवेदनका सम्बन्धमा छलफल राख्न माग गरेका छन् ।
लेखा समितिले पोखरा र भैरहवा विमानस्थलमा भएको भनिएको अनियमितताबारे दुई वटा छुट्टाछुट्टै उपसमिति बनाएर अध्ययन गरिरहेको छ । गत असारमा गठित उपसमितिलाई अध्ययन, अनुगमन र छानबिन गरी रायसहितको प्रतिवेदन पेस गर्न भनिएको छ ।
भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन–अनुगमनका लागि एमाले सचिव एवं सांसद योगेश भट्टराईको नेतृत्वमा आठ सदस्यीय उपसमिति गठन गरिएको छ ।