पोखरामा होलीलाई लक्षित गर्दै ३ सय भन्दा धेरै प्रहरी परिचालित

केन्द्रभाग मिडिया

पोखरा ।
आज फागु पूर्णिमा अर्थात रङहरुको पर्व होली । संघीय राजधानी काठमाडौं उपत्यका, गण्डकी प्रदेशको राजधानी पोखरासहित पहाडी तथा हिमाली भेगमा आज एक अर्कालाई रङ लगाएर होली मनाईदैछ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन मनाइँने होली विशेष रुपमा बालबालिकादेखि युवा हुँदै वृद्धवृद्धासम्मले उत्सवका रुपमा एक आपसमा रङ, अबिर लगाइदिने, नाच गान गर्दै हर्षोल्लासका साथ मनाइने गरिन्छ ।

आज पोखराको विशेषगरी लेकसाइडको हल्लनचोक, बाराहीघाट, सेन्टरपोइन्ट लगायत विभिन्न स्थानहरुमा पनि होली स्पेसल कार्यक्रमहरु आयोजना गरिएका छन् । होली स्वतन्त्र रुपमा मनाइने पर्व भएकाले स्वतन्त्रताकै नाममा उच्छृङखल तथा अभद्र गतिविधि नगर्न जिल्ला प्रहरी कार्यालय कास्कीले आग्रह गरेको छ । होलीलाई मध्यनजर गरेर पोखरामा सुरुक्षा व्यवस्था मजबुद् बनाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) बसन्त शर्माले जानकारी दिए । उनले माइकिङ गरेर होली पर्वलाई मर्यादितढंगले मनाउन आग्रह गरिएको बताए । मर्यादित ढंगले चाड मनाउन अग्रह गरिएको उनले जानकारी दिए ।

‘हामीले मर्यादित रुपमा होली पर्व मनाउन आग्रह गरेका छौं । जनचेतनाका लागि माइकिङ गरेका छौं । कसैलाई इच्छा विपरित जवरजस्ती रङ नलगाइदिन, रङको नाममा अनेक खालका स्वास्थ्य प्रतिकुल क्यमिकल प्रयोग नगर्न, हो हल्ला नगर्न र मादक पदार्थ सेवन गरेर सार्वजनिक स्थलमा उच्छृंकल गतिविधि नगर्नुका साथै मादक पदार्थ सेवन गरेर सवारी नचलाउन आग्रह गरेका र्छौं ।’ उनले भने, ‘यदि यस्ता कार्य गरेमा हामी नियन्त्रणमा लिएर कानूनी कारबाही गछौं ।’

पोखराका विभिन्न स्थानमा आयोजना भएको होलीका कार्यक्रममा हुनसक्ने उच्छृंखल गतिविधि नियन्त्रण गर्न अरु सामान्य अवस्थाको तुलनामा आज ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको डीएसपी शर्माले जानकारी दिए । दुई सिफ्टमा प्रहरी परिचानल गरिएको भन्दै उनले भिडभाड हुने ठाउँ लेकसाइड, फुटट्रयाक, खपौदी ,बाराहीघाट, हल्लनचोक लगायतका स्थानमा बिहान ११ बजेबाट साँझ ६ बजेसम्म एक सिफ्ट र साँझ ६ देखि राति १२ बजेसम्म अर्को सिफ्ट गरि सुरक्षाकर्मी डियुटीमा रहने उनले जानकारी दिए ।

होली लक्षित ‘सुरक्षा योजना’ लागु भएको बताउँदै प्रवक्ता शर्माले जबर्जस्ती रंङ नदल्न र इच्छाविपरीत लोला नहान्न आग्रह गरे । चिनजान नभएका र काम विशेषले हिँडेका मानिसलाई जबरजस्ती लोला हान्ने र रंङ दल्ने गरेको भेटिए नियन्त्रणमा लिई मुद्दा चलाइने प्रवक्ता शर्मा बताउँछन् ।

होलीको नाममा जबर्जस्ती लोला हान्नेलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा चलाउने अधिकार प्रहरीलाई छ । सो मुद्दामा १ वर्ष कैद र १० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

  • २९ फाल्गुन २०८१, बिहीबार १०:४८ प्रकाशित