पोखराको लेकसिटी कलेजमा आजदेखि स्पोर्टस् मिट सुरु

केन्द्रभाग मिडिया

पोखरा ।

लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर गैह्रपाटनमा सोमबारदेखि खेलकुद प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म आयोजना हुने प्रतियोगितामा लेकसिटीमा अध्ययनरत विधार्थीहरुवीच विभिन्न खेलमा प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगितामा टेवल टेनिस, बास्केटबल र फुटसल खेल समावेश गरिएको कलेजले जानकारी दिएको छ । जसअन्तर्गत छात्र र छात्राहरुको भिन्दा भिन्दै खेलहरु हुनेछ । उनीहरुले प्रतियोगितामा एकल, जोडी र समूहमा प्रतिष्पर्धा गर्नेछन् ।

सोमबार कलेज परिसरमा बास्केटबल र टेवलटेनिस प्रतियोगिताका प्रारम्भिक चरणका खेलहरु आयोजना गरिएको छ । छात्र तथा छात्रा बास्केटबल र टेवलटेनिस प्रतियोगितामा विधार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । मंगलबार फुटसल खेल आयोजना हुनेछ । बास्केटबल र टेवलटेनिसका सेमिफाइन र फाइन खेल पनि दोस्रो दिन आयोजना गरिने बताइएको छ ।

सो अवसरमा क्याम्पस प्रमूख नारायण श्रेष्ठ, सहायक क्याम्पस प्रमूख शोभाकान्त सिग्देल, शिक्षकहरु र विधार्थीहरुले सहभागी खेलाडीलाई हौसला प्रदान गरेका थिए । कलेजका शिक्षक तथा प्रतियोगिता संयोजक सुशन थापाले खेलहरु सञ्चालन गरेका हुन् ।

वार्षिक कार्यक्रम अन्तर्गत खेलकूद प्रतियोगिता आयोजना गरिएको क्याम्पस प्रमूख श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा विधार्थीको सहभागिता उत्साहजनक रहेकोले आगामी वर्ष पनि यस्ता कार्यक्रमलाई कलेजले निरन्तरता दिने उनको भनाइ छ । प्रतियोगितामा विजयी विधार्थीहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिन्छ ।

खेलकूदको माध्यमबाट विधार्थीहरुवीच आपसी मित्रता अभिवृद्धि गराउने उद्देश्य प्रतियोगिता आयोजना गरिएको संयोजक थापाले बताएका छन् । कलेजले शैक्षिक गतिविधिका अलावा अध्ययनरत विधार्थीहरुलाई सहभागी गराएर विभिन्न कार्यक्रमहरु वार्षिक रुपमा गर्दै आइरहेको जनाएको छ । रक्तदान, वृक्षरोपण, शैक्षिक भ्रमण तथा अवलोकन जस्ता कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

लेकसिटीमा रहेको सामाजिक विज्ञान केन्द्रले मौलिक प्रस्तुतिका रुपमा हरेक महिना कचहरी कार्यक्रम गर्दै आएको छ ।त्रिविबाट सम्बन्धन प्राप्त यो कलेज २०६४ मा स्थापना गरिएको हो । कलेजमा स्नातक तहअन्तर्गत बिबिएस, बिएएसडब्लु (समाजसेवा) र बिएमा समाजशास्त्र, पत्रकारिता तथा आमसञ्चार र अंग्रेजी साहित्य पठनपाठन हुन्छ । हाल कलेजमा ३ सय ५० विद्यार्थी छन् ।

  • २६ फाल्गुन २०८१, सोमबार १६:०९ प्रकाशित