पोखरा ।
पोखरा महानगरले मानव सेवा फाउण्डेसनले पर्यटकीय राजधानी पोखरामा नियोजित रुपमा घटना घटाएको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्न कास्की प्रशासन समक्ष माग गरेको छ । शुक्रबार बाराहीघाट मैदानमा विना अनुमति कानुन विपरीत कोटीहोमको नाममा जबरजस्ती भूमिपूजन गर्न खोज्दा असहज परिस्थिती सृजना भइ घटना घटेको महानगरले जनाएको छ ।
महानगरपालिकाका जनप्रतिनिधिहरु कार्यक्रम स्थलमा उपस्थित भई कार्यक्रम स्थगन गर्न अनुरोध गर्दा अटेर गरी कार्यक्रम अगाडि बढाउनु प्रचलित कानुन र स्थानीय सरकारको क्षेत्राधिकार माथिको उल्लघंन भएको समेत महानगरले जनाएको छ ।
शुक्रबार सांझ महानगरका प्रवक्ता मोतीलाल तिमिल्सिनाले एक विज्ञप्ती मार्फत घटनामा संलग्नलाई पहिचान गरी काुनुनी कारबाही गर्न कास्की प्रशासन समक्ष माग गरेको हो ।
विज्ञप्तीमा मानव सेवा फाउन्डेसन नामक संस्थाले नेपालको पर्यटन राजधानी पोखराको लेकसाइड स्थित बाराहीघाट मैदानमा अनुमति विना प्रचलित कानुन विपरीत कोटीहोमका नाममा जबरजस्ती भूमिपूजन गर्न खोज्दा असहज परिस्थिति सृजना हुन पुगेको जनाइएको छ ।
सम्मानित उच्च अदालत पोखरामा विचाराधीन अवस्थामा रहेको कोटीहोमसँग सम्बन्धित सम्पूर्ण कार्यक्रमहरू स्थगन गर्न पोखरा महानगरपालिकाले अनुरोध गर्दै धर्मको आवरणमा गुण्डागर्दी शैलीमा रड, लाठी र हतियार सहित पोखरा बाहिरका मानिसहरू समेत जम्मा गरी साङ्घातिक आक्रमणमा उत्रनु निन्दनीय कार्य भएको विज्ञप्तीमा जनाइएको छ ।
जनप्रतिनिधिहरू माथि अशिष्ट, अमर्यादित, उत्तेजक र भ्रामक अभिव्यक्तिहरू दिएर सुरुवातबाटै धार्मिक सहिष्णुतालाई भड्काउने, धर्मका नाममा समाजलाई विभक्त तुल्याउने, सनातन आस्था प्रति घृणा फैलाउने, सदिऔँदेखि मिलेर शान्तिपूर्ण रूपमा बसिरहेको पोखराको एकता र शान्ति खलबल्याउने कुत्सित मनसाय साथ गरिएका यस्ता हर्कतहरु कानुनतः दण्डनीय भएको विज्ञप्तीमा उल्लेख छ ।
विवादास्पद छविका विजय भण्डारीको उक्साहटमा परिचालित समूहको आक्रमणमा परी ११ जना महानगर प्रहरीहरू र केही अन्य व्यक्तिहरू समेत घाइते भएका छन् । टाउको, अनुहार र शरीरका विभिन्न भागहरूमा गम्भीर चोट लागेका नगरप्रहरीहरुको मेट्रोसिटी अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ महानगरको विज्ञप्तीमा जनाइएको छ । पोखरा क्षेत्रका ऐतिहासिक महत्वका चौतारीमा रहेका सयौँ वर्ष पुराना वरपीपलका रुखहरू मास्ने कार्यमा समेत संलग्न मानव सेवा फाउन्डेसनले अनुमति विना वैशाखबाट गर्ने भनीएको कोटिहोम यथास्थितिमा हुन नसक्ने कुरा महानगरपालिका पुनः स्पष्ट पार्दछ ।
विज्ञप्ती मार्फत पोखरा महानगरपालिका सवै धर्म र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने दायित्व र जिम्मेवारी प्रति पूर्ण प्रतिबद्ध रहेको र पोखरा महानगर क्षेत्रमा प्रचलित कानुन विपरीतका कुनैपनि कार्यहरू सञ्चालन नगर्न/नगराउन सम्बन्धित सवैमा आह्वान समेत गरेको छ ।















