धनुषा ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनप्रतिनिधिहरूले आफूलाई जनताको सेवकको रूपमा लिएर काम गर्नु पर्ने बताएका छन् । जनताको सेवा नै सर्वोपरि कर्तव्य, लक्ष्य भएको उनले बताए ।
महोत्तरीको मनरा शिसवा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहमा देउवाले स्थानीय तहले कृषि, पर्यटनलगायत क्षेत्रमा आधुनिकीकरण गरेर आर्थिक प्रगति गर्न सीपमुलुक तालिमको अभियान सुरु गरेर ठूलो मात्रामा स्थानीय रोजगारी सिर्जना गर्न सक्ने बताए ।
‘स्थानीय उत्पादनहरूको प्रवर्द्धन तथा बजारीकरण गर्नेदेखि नवप्रवर्तनात्मक क्षेत्रको पहिचान गरेर आर्थिक रूपमा सम्पन्न नगर बनाउन सकिन्छ,’ देउवाले भने, ‘सडक, बिजुली, खानेपानी, सिँचाइलगायतका क्षेत्रको विस्तारमा नगर, प्रदेश सरकार र केन्द्रीय सरकार सहकार्य गरेर अघि बढ्नु पर्छ ।’
उर्वर भूमिको अधिकतम उपयोग गर्ने, स्थानीय रोजगारी सिर्जना गर्ने, स्थानीय उत्पादनको बजार विस्तार गर्ने कार्यमा नगरपालिकाले थप योजना बनाएर अघि बढे स्थानीय तहलाई समुन्नत बनाउन सकिने उनले बताए ।














