बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु

केन्द्रभाग मिडिया

काठमाडौँ ।

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२–०८३ को बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु गरेको छ । यसैक्रममा आज मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यस मातहतका विभाग तथा निकायहरूसँग परामर्श गरेको छ ।

सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२–०८३ मा अनुशासित र यथार्थपरक बजेट ल्याउने बताए । यथार्थपरक बजेट आउँदा रकमान्तर र संशोधन गर्न नपर्ने र कार्यान्वयनमा समस्या नआउने उनको भनाइ छ ।

अर्थमन्त्री पौडेले बजेटको सिद्धान्त, मूल्य मान्यतालाई आत्मसात् गरी बजेट बनाउने र विगतको अनुभवबाट शिक्षा लिएर अघि बढ्ने धारणा व्यक्त गरे ।

उनले सङ्घ, प्रदेश र स्थानीय सरकार रहेकाले सङ्घीयता र सङ्घ सरकारको भूमिकालाई विशेष ध्यान दिएर बजेट बनाउनेमा जोड दिए। मन्त्रालयहरू र विभिन्न निकायबिचको समन्वयमा बजेट निर्माण हुने हुँदा बजेटप्रति सबैले अपनत्व लिने अर्थमन्त्रीको विश्वास छ ।

विपद्पछिको पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले जीवन्त र प्रभावकारी बजेट बनाउने, नीति तथा कार्यक्रम र बजेटबिच तादात्म्य मिलाएर आगामी आर्थिक वर्षको बजेट बनाउने बताए ।

अर्थमन्त्री पौडेलले कार्यान्वयन हुन नसक्ने र कम प्राथमिकताका आयोजनाहरूलाई स्थगन गर्दै कार्यान्वयन योग्य योजनाहरू मात्र समावेश गर्न सम्बन्धित मन्त्रालयलाई आग्रह गरे । त्यसैगरी साना योजनाहरूलाई रोकी क्रमागत योजनाहरूको संख्या घटाउन पनि सुझाव दिएका छन् ।

  • २१ फाल्गुन २०८१, बुधबार १३:०८ प्रकाशित