भूमिबाहेकका यी पाँच अध्यादेश आजको संसद् बैठकमा पेस हुँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।
भूमिबाहेकका पाँचवटा अध्यादेश आज (बुधबार) को संसद् बैठकमा पेस गरिँदैछ । त्यसका लागि बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । सत्तारुढ जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीसँग मंगलबार सहमति जुटेपछि सरकाले भूमिबाहेकका पाँचवटा अध्यादेश सदनमा प्रस्तुत गर्न लागेको हो ।

आज संसदमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ आजको संसद् बैठकमा पेस गर्न लागिएको हो ।

गएको १८ माघमा नै सरकारले ६ अध्यादेश संसद्‍मा दर्ता गरेको थियो । ती अध्यादेश २४ माघमै संघीय संसद्का दुवै सदनमा प्रस्तुत गर्ने कार्यसूची थियो। तर, उपेन्द्र यादव नेतृत्वको जसपाले भूमि सम्बन्धि अध्यादेशमा आफ्नो समर्थन नरहने चेतावनी दिएपछि सरकारले त्यतिबेला अध्यादेशलाई प्रक्रियामा लगेको थिएन ।

४ घन्टाको त्यो ‘निर्णायक’ वार्ता, जहाँबाट सरकार भूमि अध्यादेशमा पछि हट्ने निष्कर्षमा पुग्यो । वर्तमान सत्ता गठबन्धनमा रहेका जसपा नेपाल, लोसपा लगायतका दलले समर्थन जनाएका ५ वटा अध्यादेशलाई मात्रै सरकारले आज  बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्न लागेको हो । हिजो बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पाँचवटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने सहमति जुटेको थियो ।

जसपा नेपालले भूमिसम्बन्धि अध्यादेश फिर्ता नलिए अन्य पाँचवटा अध्यादेशमा पनि समर्थन नगर्ने अडान लिएपछि सरकार भूमि सम्बन्धि अध्यादेशबाट पछि हटेको हो । एमालेका नेताहरुले भूमि अध्यादेश सत्तारुढ दलहरुबीच छलफलकै चरणमा रहेको प्रतिक्रिया दिएका छन् । विपक्षी दलहरुले भने अध्यादेशमा सहमति नजनाउने बताउँदै आएका छन् ।

  • २१ फाल्गुन २०८१, बुधबार ०८:३४ प्रकाशित