पर्वत ।
पर्वतको कुश्मा नगरपालिकाले सर्वसाधारणको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न निःशुल्क वितरण गरिने औषधी खरिदमा हेलचक्राई गरेको छ । नगरपालिकाले आफ्नो स्वास्थ्य संस्था मार्फत् निःशुल्क वितरण गर्नुपर्ने ९८ प्रकारका औषधी खरिदमा ढिलाई गर्दा सर्वसाधारण मर्कामा परेका छन् ।
कुश्मा नगरपालिकाले सर्वसाधारणलाई निःशुल्क वितरण गर्नुपर्ने औषधी खरिद गरेको छैन । कुश्मा नगरपालिकासँग निःशुल्क औषधी खरिद गर्न भनी गत भदौ महिनामा सङ्घीय स्वास्थ्य मन्त्रालयबाट प्राप्त सशर्त रकम १६ लाख र नगरपालिकाको निशर्त ८ लाख गरी २४ लाख रकम रहेको स्वास्थ्य शाखाका सिनियर अनमी दुर्गा सापकोटाले बताए ।
गाउँघरका स्वास्थ्य संस्थामा विमारको उपचारपछि निःशुल्क औषधी पाइन्छ भन्ने विश्वास लिएका सर्वसाधारण रुघाखोकी हुँदा खाने सिटामोल औषधी समेत पाउन नसकेपछि निराश बनेर घर फर्कनु परेको छ । नगरपालिका भित्रका ग्रामीण बासिन्दाले निःशुल्क औषधी पाउन छोडेको ४ महिना हुन थालिसक्यो ।
नगरपालिकाको वडा १४ मा पर्ने आरथर डाडाँखर्क स्वास्थ्य चौकी प्रमुख चन्द्रकान्त गौतमले निःशुल्क उपलब्ध गराउनुपर्ने औषधी नहुँदा सर्वसाधारण विरामीलाई रित्तो हात फर्काउनु पर्ने अवस्था रहेको बताए । नगरपालिकाकै वडा १२ मा रहेको ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर किष्ण सुवेदीले निःशुल्क दिनुपर्ने औषधि नहुँदा समस्या रहेको बताउदै स्वास्थ्य सेवाका लागि आउने बिरामीलाई उपचार पछि निःशुल्क पाइने औषधी दिन नपाएको बताए ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यम प्रसाद शर्मालेनगरसभा तीन महिना ढिलाई भएका कारण औषधी खरीद प्रकृया ढिला भएको र औषधी अभाव भएको बताए ।ग्रामिण जनतालाई स्वास्थ्यसेवा पुराउने भनी नगरपालिका भित्र हेल्थपोस्ट ९ वटा, १ प्राथमिक स्वास्थ्य केन्द्र, ३ आधारभूत स्वास्थ्य केन्द्र र ४ वटा सहरी स्वास्थ्य केन्द्र गरी १७ वटा स्वास्थ्य संस्थाहरू सञ्चालनमा छन् । यी स्वास्थ्य सस्थाबाट वर्षेनी खोप सेवा, गर्भवती परीक्षण, परिवारनियोजनको परामर्श तथा सेवा लिने सहित स्वास्थ्य उपचार सेवा लिने सर्वसाधारणको सङ्ख्या करिब २५ हजार रहने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
सञ्चालनमा रहेका प्रायजसो स्वास्थ्य संस्थाहरूमा औषधीको अभाव छ भने स्वास्थ्य संस्थाहरूले निःशुल्क वितरण गरिने भनिएका मध्ये केही प्रकारका औषधी मात्रै वितरण गर्ने गरेको पाइन्छ । यतिखेर मौसमी रुखाखोकी भाइरल ज्वरोको सङ्क्रमण गाउँघर तिर बढ्दो छ । भाइरल ज्वरोमा खाने सिटामोल खरिदका लागि सदरमुकाम कुश्मा बजार झर्नुपर्ने बाध्यता सर्वसाधारणलाई छ ।