रास्वपा केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन् । नेपालबाट अमेरिका जाने क्रममा थापालाई अमेरिकाको इमिग्रेसन एण्ड कस्टम्स इनफोर्समेन्ट (आइसिइ) ले फिलाडेल्फियामा नियन्त्रणमा लिएको हो ।

थापा रास्वपा सभापति रवि लामिछानेसँग निकट मानिन्छन् । २०७९ मा रास्वपाका तत्कालीन सांसद ढाकाकुमार श्रेष्ठलाई आर्थिक लेनदेनमा कारबाही गरेको बेला थापा पनि निलम्बनमा परेका थिए । तर उनको पछि कारबाही फुकुवा गरिएको थियो ।

केन्द्रीय सदस्य थापा अमेरिकन इमिग्रेसनको हिरासतमा रहेको पार्टीलाई जानकारी प्राप्त भएको रास्वपा नेता मनिष झाले जानकारी गराए ।

थापाले यसअघि नै आफू पार्टीको जिम्मेवारीबाट बाहिर रहन निवेदन दिएको पनि झाले जानकारी गराएका छन् । ‘मोहन थापाजीले यस अगावै नै आफूले केही व्यक्तीगत कानुनी प्रक्रियाहरू स्पष्ट र समाधान गर्नु छ र सो किनारा नलागेसम्मको लागि आफू केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहन निवेदन दिएर जानुभएको थियो,’ झाले भनेका छन् ।

पार्टीको वेबसाइटबाट पनि केन्द्रीय सदस्यको सूचीबाट थापाको नाम हटाइएको छ ।

 

  • १८ फाल्गुन २०८१, आईतवार १७:१० प्रकाशित