मियाँपाटनमा सुलभ फार्मेसी सेवा

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १३ मा रहेको अन्नपूर्ण क्लिनिकल प्रालिले शुक्रबारबाट सुलभ फार्मेसी सेवा सुरु गरेको छ । ६ वर्ष अघिदेखि सेवा दिँदै आएको प्रालिले सर्वसाधारणलाई होलसेल मूल्यमै औषधी उपलब्ध गराउन थालेको हो ।

निजी क्षेत्रबाट देशमै पहिलोपटक यस खालको सेवा सुरुआत गरेको सञ्चालकको दाबी छ । सुलभ फार्मेसी सेवा शुक्रबार बिहान आयोजित समारोहमा पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोला र पोखरा १३ का वडाध्यक्ष किरण बरालले संयुक्त रुपमा सुरुआत गरे ।

पोखरा १२ का अध्यक्ष बास्तोलाले व्यवसायसँगै सर्वसाधारणलाई सेवा दिने हेतुले यस खालका प्रयास हुनु सराहनीय भएको बताए । उनले भने, ‘यस खालका काम राज्यले गर्नुपर्ने हो । निजी क्षेत्रबाट सुलभ रुपमा सर्वसाधारणले औषधी पाउँदा उनीहरुको स्वास्थ्यमा पहुँच बढ्छ ।’ पोखरा–१३, मियाँपाटन चोकमा रहेको अन्नपूर्ण क्लिनिकलमा विशेषगरी पोखरा महानगरका वडा नम्बर १०, १२ र १३ का सर्वसाधारण सेवा लिन पुग्ने गरेका छन् ।

अन्नपूर्णका सञ्चालक हिरामणि न्यौपानेले स्वास्थ्य क्षेत्रको संवेदनशीलता र नागरिकको कर्तव्य बोध गरी यस खालको सेवा सुरु गरेको जनाए । उनले भने, ‘नाफामुखी भन्दा सेवामुखी भएर काम गरौं भनी नयाँ योजना ल्याएका छौँ । होलसेल मूल्यमै औषधी पाउँदा उपभोक्ताको पहुँच उपचारमा बढ्नुका साथै आर्थिक रुपमा पनि उनीहरुलाई फाइदा हुन्छ ।’

अन्नपूर्णमा प्रदेशकै पहिलो रेफरेन्स ल्याब युआरएलको शाखासहित भिडियो एक्सरे, ओपिडी, मुटुको भिडियो एक्सरे, सामान्य शल्यक्रिया लगायतका सेवा उपलब्ध छन् । बाँझोपनको समस्या सामाधानका निम्ति भारतको प्रतिष्ठित चेन इन्दिरा आइभिएफको काठमाडौं शाखासँग सहकार्य गरी यहाँ परामर्शसमेत दिने गरिएको छ । अन्नपूर्णकी सञ्चालक संगीता बरालले उपभोक्ताको हितका लागि सुरु गरिएको सेवाबाट लाभ लिन आग्रह गरिन् ।

शुक्रबारै यहाँ निशुल्क तीन महिने संगिनी सुई लगाउने सेवासमेत प्रारम्भ गरिएको छ । पोखरा १३ को सहरी स्वास्थ्य केन्द्र तथा महानगरको स्वास्थ्य महाशाखाको समन्वय यो सेवा सुरु गरिएकको हो ।

  • १६ फाल्गुन २०८१, शुक्रबार २२:१० प्रकाशित