०८४ को निर्वाचनमा एक्लाएक्लै चुनाव लड्छौं : एमाले महासचिव पोखरेल

केन्द्रभाग मिडिया

नेपाल कम्युनिष्ट पार्टी एमाले महासचिव शङ्कर पोखरेलले नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाए पनि आगामी निर्वाचनमा बिनागठबन्धन एक्लाएक्लै चुनाव लड्ने बताएका छन्। एमाले पेसागत विशेष जिल्ला कमिटीले आज आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उनले भने,’गठबन्धन गर्दा साना पार्टी संसदमा रहिरहने र तिनले अस्थिरता सिर्जना गरिरहने अवस्था कायमै रहन्छ। त्यसको अन्त्य हुनुपर्दछ भन्ने मान्यताका साथ हामी एक्लाएक्लै चुनावमा जान्छौँ।’

सोही क्रममा महासचिव पोखरेलले राजनीतिक दलले मुलुक बनाउन नसकेको नभई मुलुक बनाउने परिस्थिति निर्माण नहुँदा समस्या भएको जिकिर गरे। उनले विभिन्न बहानामा देशमा उत्पन्न हुने समस्याका कारण राजनीतिक दलले सम्पूर्ण ध्यान विकास निर्माणमा लगाउन नपाएको पनि भनाइ राखे।

उनले देश आर्थिक रूपमा कमजोर र सामाजिक रूपमा अराजक बन्दै गएपछि थप समस्या उत्पन्न हुन नदिन दुई ठूला राजनीतिक दल मिलेर काम गर्न थालेको बताए।

  • १६ फाल्गुन २०८१, शुक्रबार १६:०२ प्रकाशित