सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्यान्च्यिुडको शक्तिशाली भूकम्प

केन्द्रभाग मिडिया

 

काठमाडौं ।
शुक्रबार बिहान काठमाडौंसहित देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको छ । एक बिहानै भूकम्पको शक्तिशाली धक्का महसुस भएसँगै सर्वसाधारण त्रसित बनेका थिए ।

राष्ट्रिय मापन केन्द्रले बिहान २ : ५१ मा ६.१ म्याग्निच्युडको भूकम्प गएको जानकारी दियो । भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास क्षेत्र भएको बताइएको छ । भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी बन्दी घााइते भएका छन् ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले दिएको जानकारी अनुसार भूकम्पपछि आत्तिएर भाग्न खोज्दा कारागारभित्रै लडेर उनी घाइते भएको र उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।

उनले शक्तिशाली भूकम्पको धक्का महसुस गरिएपनि थप भौतिक वा मानवीय क्षतिको विवरण आइनसकेको बताएका छन् । प्रमुख जिल्ला अधिकारी थापाले विपदपछिको उद्धारलाई मध्यनजर गर्दै सुरक्षाकर्मीको टोली तयारी अवस्थामा रहेको र आवश्यकता अनुसार फिल्डमा खटिने जानकारी दिए ।

भूकम्पबाट भएको क्षतिको विवरण अहिलेसम्म प्राप्त भइसकेको छैन । यसअघि गत पुष ५ मा बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि पनि चार म्याग्निच्युडभन्दा माथिका एक दर्जन हाराहारीमा भूकम्प गइसकेका छन् ।

  • १६ फाल्गुन २०८१, शुक्रबार ०५:५५ प्रकाशित