म्याग्दी ।
म्याग्दीमा गलेश्वरमा रहेको गलेश्वर शिवालय मन्दिरमा शिवरात्रीका दिन दर्शन तथा पूजा अर्चना गर्न आएका दर्शनार्थीहरुले चार लाख रुपियाँभन्दा बढी भेटी रकम चढाएका छन् ।
गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँका अनुसार शिवरात्रीका दिन चढाएको भेटी बिहीबार बिहान गणना गर्दा चार लाख ३३ हजार सात सय ७४ रुपियाँ भएको हो ।
गलेश्वर शिवालयमा हरेक वर्ष साउनका सोमबार तथा शिवरात्री र बालाचतुर्दशीमा भक्तजनको भिड लाग्ने गर्दछ । भक्तजनले चडाएको रकम बिहीबार गणना गरेर बेनीमा रहेको गरिमा विकास बैंकमा जम्मा गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिए ।
गलेश्वर मन्दिरमा राखिएको दानपेटिकामा भक्तजनले चढाएको रकम र मन्दिरमा रसिद काटेरै दिएको दान पनि गणना गरिएको हो । शिवरात्रीका दिनमा दानपेटिकामा चढाएको र रसिद काटेर दान दिएको रकम गणना गरिएको अध्यक्ष रेग्मीको भनाइ छ । बिहीबार सर्वपक्षीय तबरबाट भएको गणनापछि रकम बैंक दाखिला गरिएको हो ।















