मुस्ताङका विद्यालयमा दुई महिनापछि पठनपाठन सुरु

केन्द्रभाग मिडिया

मुस्ताङ ।

हिउँदे बिदा सकिएसँगै मुस्ताङका स्कुलमा पठनपाठन सुरु हुन थालेको छ । २ महिना लामो हिउँदे बिदापछि मुस्ताङका वारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका विद्यालय पुनः सञ्चालनमा आएका हुन् ।

मुस्ताङमा ३५ वटा सामुदायिक विद्यालय छन् । गुम्बा, आमची र संस्थागत गरी १२ विद्यालय सञ्चालनमा छन् । जिल्लाका ४७ विद्यालयमध्ये घरपझाङ, थासाङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका २४ विद्यालयले बर्सेनि हिउँदे बिदा दिने गरेका छन् । जुन कम्तिमा २ महिना लामो समयसम्मका लागि हुन्छ ।

मुस्ताङसहित हिमाली भेगका स्कुलले हावापानीका कारण यसरी नै हिउँदका पुस र माघमा पठनपाठन बन्द गर्ने गर्छन् ।

हिउँदयामको पुस र माघ महिनामा हिमपात र अत्यधिक चिसोले बालबालिकाको शिक्षण सिकाइ क्रियाकलाप प्रभावित हुने तल्लो मुस्ताङका सामुदायिक विद्यालयले विद्यार्थीलाई लामो हिउँदे बिदा दिने गर्दछन् । हिउँदयाममा स्थानीय तहका विद्यालयलाई दुई महिना लामो हिउँदे जाडो बिदा दिने गरिन्छ ।

उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाअन्तर्गतका सामुदायिक, गुम्बा, आमची र संस्थागत विद्यालय भने हिउँदयाममा साविक स्थान छाडेर बेँसीमा झारेर पढाइलाई निरन्तरता दिँदै आएका छन् ।

शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख रामेश्वर लामिछानेका अनुसार बेंसी नझारी हिउँदे जाडो विद्यायले फागुनको पहिलो सातादेखि क्रमशः शिक्षण सिकाइ क्रियाकलापलाई निरन्तरता दिने गर्दछन् । जिल्लामा दुई महिना लामो हिउँदे बिदाका लागि ४५ दिन वार्षिक सरकारी बिदा र १५ दिन सट्टा बिदा गरी ६० दिन विद्यालयको शैक्षिक पठनपाठन स्थगित गरिने जनाइएको छ ।

जिल्लाका तीन स्थानीय तहका सामुदायिक विद्यालयहरू फागुनदेखि क्रमशः शैक्षिक पठनपाठन सञ्चालनमा आएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख लामिछानेले जानकारी दिए । उनका अनुसार विद्यालय खुले पनि जिल्ला बाहिर रहेका विद्यार्थी विद्यालय फर्किन थालेका छन् । घरपझोङ, थासाङ र वारागुङ मुक्तिक्षेत्रका अधिकांश सामुदायिक तथा धार्मिक गुम्बा विद्यालयहरूमा शैक्षिक पठनपाठन सुरु भएको एकाइ प्रमुख लामिछानेको भनाइ छ ।

उनका अनुसार जिल्लाका तीन स्थानीय तहका विद्यालय हिउँदयामको पुस र माघमा विद्यालय पूर्ण रूपमा बन्द हुने भए पनि उपल्लो मुस्ताङका विद्यालयले विद्यार्थीलाई हिउँदे बिदा दिँदैनन् । उपल्लो मुस्ताङका विद्यालयले स्थानीय गाउँपालिकाको सिफारिसमा विद्यार्थीलाई घुम्ती कक्षा चलाउन बेँसी स्थान्तरण गर्ने प्रचलन छ । रासस

  • १४ फाल्गुन २०८१, बुधबार १५:४३ प्रकाशित