पोखरा ।
आज देखि पोखराको प्रशिद्ध धार्मिक एवं पर्यटकीय स्थल सराङकोटमा श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महोत्सव सुरु हुँदैछ । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिको आयोजनामा हुन लागेको महायज्ञ एवं धार्मिक पर्यटन महोत्सव २१ फागुनसम्म चल्ने छ । महोत्सवसहित हालसम्म निर्माण भएका पर्यटकीय एवं धार्मिक संरचनाको औपचारिक उद्घाटन भने भव्य समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले १७ गते शनिबार गर्ने कार्यक्रम रहेको महायज्ञ एवं पर्यटन महोन्सव मुल आयोजक समितिका अध्यक्ष प्रेम बहादुर जिसीले जानकारी दिए ।
उनका अनुसार विधिपूर्वक महायज्ञको शुभारम्भ हुनेछ । आज महायज्ञको पहिलो दिनमा पोखराको सिमपानी स्थित गाइघाँटदेखि जल सहितको कशल यात्रा हुनेछ ।
सराङकोटमा हालसम्म करिब ३५ करोड रुपैयाँ लागतमा विभिन्न भौतिक संरचनाहरु निर्माण भएका छन् । विशाल शिवमन्दिर, नेपालकै पहिलो बिशाल पञ्चमुखी गणेश मुर्ति, भ्यूटावर, १०८ शिव लिङ्ग, १०८ धारा, भूमे कालिका मन्दिर, गणेश मन्दिर, होमन कुण्ड, स्वागतद्धार, बहुउद्देस्यीय भवन लगायतका भौतिक संरचना सराङकोटमा निर्माण भएका अध्यक्ष जिसीले जानकारी दिए ।
सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिको नेतृत्वमा २०६१ देखि वृहत गुरुयोजना मार्फत उत्तः परियोजना निर्माण हुदै हालसम्म ४ पटक आयोजना भएका महायज्ञ तथा दाताको सहयोग र सरकारको सहयोगमा उत्तः संरचना निर्माण भएका हुन् । महाशिवरात्रि जस्तो पवित्र दिनदेखि आरम्भ हुने यो महायज्ञले धार्मिक अनुयायीहरूको ध्यान तान्ने मात्र होइन, महादेवप्रति भक्तिभाव व्यक्त गर्ने एउटा अनुपम अवसर पनि प्रदान गर्ने भएको महायज्ञका प्रमुख वाचक भागवत् भाष्कर पण्डित कमलनयन गौतमले बताएका छन् । यस अवसरमा भागवत ज्ञानको गहिरो अर्थ र शिक्षालाई समाजमा प्रवाह गर्दै धार्मिक एकता र शान्तिको सन्देश फैलाउने आफुहरुले विश्वास गरेको उनले उल्लेख गरे ।
पोखरा महानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष शिव प्रसाद तिमिल्सिनाले सराङकोट, आफैमा पर्यटकीय हुदै प्रसिद्ध धार्मिक क्षेत्रको रुपमा समेत विकसित हुदै आएको र निर्मित संरचनाले यसको उचाई अझै बढाउने आफूहरुले अपेक्षा राखेको बताए । महायज्ञले स्थानीय उत्पादन र व्यवसाय प्रवद्र्धन गर्न सहयोग पु¥याउने उनको भनाई छ । अन्नपूर्ण केबुलकारका महाप्रवन्धक दिनेश पौडेलले धार्मिक र अन्य पर्यटकहरूको आगमनले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने धारणा राखे ।
उनले अन्नपूर्ण केबुलकार मार्फत निर्माण भएको नेपालकै पहिलो पञ्पमुखी गणेश मुर्तीले पोखरामा धार्मिक पर्यटकको आगमन बृद्धि हुने उनको विश्वास छ । रोडसो कन्स्ट्रक्सन प्रालि,अन्नपूर्ण केवलकारका अध्यक्ष कालु गुरुङको नेतृत्वमा विभिन्न दाताको सहयोगबाट ११ करोडको लागतमा पञ्चमुखी गणेशको मुर्ती स्थापना भएको हो ।
धार्मिक आस्था, पर्यटन प्रेम, र सांस्कृतिक महत्त्वलाई आत्मसाथ गर्दै धार्मिक पर्यटन महोत्सव सम्पन्नका लागि एक हजार एक सय ११ सदस्य मुल आयोजक समिति र ११ वटा विभिन्न समिति मार्फत स्थानीय संघसंस्था, विभिन्न समूहहरुलाई समेटी महोत्सवको तयारी पूरा गरिएको महोत्सवका प्रचारप्रसार संयोजक कृष्ण थापाले जानकारी दिए । उनका अनुसार सराङकोट धाममा निर्माण गरिएका सम्पूर्ण संरक्षण बाल उध्यान, योग ध्यान केन्द्र सहित दृष्य अवलोकनका लागि आकाशे शिशाको पुल सहितको थप योजना सम्पन्नको लागि महायज्ञ एवं धार्मिक महोत्सव कोषेढुंगा सावित हुने अपेक्षा राखिएको प्रचारप्रचार संयोजक कृष्ण थापाले उल्लेख गरे ।














