काठमाडौं ।
बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको निधन भएको छ । सोमबार काठमाडौँ, कलंकीस्थित अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
थापाले सोमबार आफ्ना साथीको कोठामा विषादी सेवन गरेका थिए । कोठामा अचेत अवस्थामा फेला परेका थापालाई तत्काल अस्पताल लगिएको प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
धादिङ, धुनीबेसी–९ घर भएका ३६ वर्षीय थापाले कलंकीस्थित एक साथीको डेरामा दिउँसो २ बजे विषादी सेवन गरेको प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
बोहराका अनुसार कोठामा कोही नभएको मौका पारेर थापाले विषादी सेवन गरेको घटना विवरण प्राप्त भएको छ । कोठामा थापाका दाइ पुग्दा अचेत अवस्थामा भेटिएपछि तत्काल उपचारको लागि कलंकीस्थित सहिद मेमोरियल अस्पताल पुर्याइएको र उपचारको क्रममा साँझ ६ः३८ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको एसपी बोहराले बताए ।
थापाको साथबाट एक पेजको पत्रसमेत बरामद भएको बोहराको भनाइ छ । सो पत्रमा सहकारीको पैसा लेनदेनको विषयमा आफूलाई जोडिएको र त्यसले आफ्नो बेइज्जत भएको उल्लेख रहेको उनले जानकारी दिए ।














