काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले २०४७ सालयताका सबै नेताको सम्पत्ति छानबिन गर्न पुनस् माग गरेका छन् । लगातार शासनमा बसेकाहरूले मुलुकलाई भ्रष्टाचारको दलदलमा चुर्लुम्म डुबाएको उनको भनाइ छ ।
‘प्रधानमन्त्री रातदिन भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न पनि दिन्नँ भन्ने गर्नुहुन्छ । तर, उहाँकै नेतृत्वमा सरकार चलेको समयको रेकर्ड हेर्ने हो भने सबै छर्लंग भएको छ,’ मध्य माघमा ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक बाचन गर्दै सांसद् ढकालले ‘उहाँले आफ्नालाई जोगाउँदै र विपक्षीलाई अनाहाकमा दुःख दिँदै आउनुभएको छ ।’
२०४७ सालपछिका दलका नेतालाई अनुसन्धानको दायरामा ल्याउन माग गर्दै उनले छानबिन गर्ने हो भने कसैले पनि टाउको लुकाउने ठाउँ नभेटिने टिप्पणी पनि गरे ।
‘हाम्रो पार्टीका अध्यक्ष (रवि लामिछाने)लाई जति होइन, अलिकति मात्रै अनुसन्धानमा ल्याएमा टाउको लुकाउने ठाउँ भेटिनेछैन,’ उनले भने ।
प्रधानमन्त्री रात-दिन भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न पनि दिन्नँ भन्नुहुन्छ । तर, उनले सरकारको नेतृत्व गरेको बेला सबैभन्दा बढी भ्रष्टाचार भएको ट्रान्सपरेन्सी इन्टरनेशनलको सूचकांकले पुष्टि गरिसकेको छ ।
आफ्नो पार्टीका अध्यक्ष रवि लामिछानेमाथि सरकारले लगातार प्रतिशोध साँधेको बताएका ढकालले संसदीय छानबिन समितिको प्रतिवेदनले सहकारीको रकम अपचलनमा कुनै संलग्नता नरहेको स्पष्ट पारिसकेपछि पनि सरकारले प्रतिशोध साँधेर लगातार दुःख दिएको बताए ।














