पोखरा ।
बागलुङको बडिगाडमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गुमेको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । बडिगाड गाउँपालिक–७ भिमगिठेबाट बडिगाड १० दर्लिङतर्फ जाँदै गरेको लु ३ च ५५६९ नम्बरको जिप मंगलबार साँझ ६ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको हो ।
बागलुङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) विजय यादवका अनुसार दुर्घटनामा निसीखोला गाउँपालिका–७ चोलाङ निवासी ७५ वर्षिय खड्कबहादुर कुवँर र ढोरपाटन नगरपालिका ५ बस्ने ३५ वर्षीया जुना कँडेलको ज्यान गुमेको हो ।
उकालो सडकमा ब्रेक फेल भई जिप सडक बाट अन्दाजी ६० मिटर तल खसेको उनले जानकारी दिए । उनका अनुसार दुर्घटनामा बडिगाड–९ का ६३ वर्षीया तेजकुमारी बुढा, सोही ठाउँका ५० वर्षीया निमसरा बुढा, ५२ वर्षीया यमकुमारी पौडेल, ३० वर्षीया सीता पौडेल र सीता पौडेलकी वर्षी ६ बर्षीया छोरी पूर्णिमा ३ वर्षीया अंशु पौडेल घाइते भएका हुन् ।
घाइते सीता पौडेल र उनकी दुई छोरी उपचार पछि घर फर्किइसकेका डीएसपी यादवले जानकारी दिए । तेजकुमारी बुढालाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा ल्याएको र बाँकी घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको उनले बताए ।
घाइतेमध्ये तेजकुमारी बुढाको अवस्था गम्भीर छ । सामान्य घाइतेको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।















