पोखरा ।
पोखरामा आजदेखि प्यासिफिक एसिया ट्राभल एसोसिएसन नेपाल च्याप्टरको आयोजनामा ‘नेपाल इन्डिया चाइना एक्सपो २०२५’ आयोजना हुँदैछ । आज सुरुभएर २६ फेब्रुअरी अर्थात १४ फागुनसम्म चल्ने प्यासिफिक एसिया ट्राभल एसोसिएसन नेपाल च्याप्टरका कार्यकारी समिति सदस्य तथा एक्स्पोका संयोजक सुनिल बहादुर भट्टराईले जानकारी दिए ।
उनका अनुसार एक्सपोमा १०० भन्दा बढी क्रेताहरु, ८० भन्दा बढी बिक्रेताहरु, चीन र भारतका २५ भन्दा बढी सञ्चारकर्मी र विज्ञ वक्ताहरु लगायत पर्यटनसँग सम्बद्ध स्थानीय संघसंस्था, सरकारी निकाय, सञ्चारकर्मी तथा सरोकारवाला गरेर १ हजार भन्दा बढीको सहभागिता रहनेछ । एक्स्पोमा सहभागी हुन भारत र चिनका सहभागीहरु पोखरा आइसकेका छन् ।
‘नाईस फर माईस एण्ड मोर’ भन्ने नाराका साथ आयोजना हुने एक्स्पोले पोखरालाई पदयात्रा र साहसिक पर्यटनको केन्द्रको रुपमा मात्र नभई बैठक, सभा सम्मेलन, प्रोत्साहान, विवाह तथा अन्य उत्सव, महोत्सव, समारोह, मेला र प्रदर्शनीहरुका लागि आकर्षक गन्तव्यको रुपमा प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ ।
दुई ठुला अर्थतन्त्र तथा पर्यटनको स्रोत बजार भारत र चीनसँगको पर्यटन सम्भाव्यता र एकीकृत व्यवसायिक अवसरहरुको प्रवद्र्धन गर्नु एक्सोको मुख्य उद्देस्य रहेको आयोजकले बताएको छ । साथै यस एक्स्पोले पोखरा घुम्नै पर्ने प्रमुख गन्तव्यको रुपमा परिचित गराउने उद्देश्य राखेको छ । एक्स्पोको आयोजना गर्नका लागि ४ करोड खर्च लाग्ने आयोजनकको भनाई छ ।
पोखरा महानगरका प्रमुख धनराज आचार्यले पोखरामा भएका अहिलेसम्मका कार्यक्रम मध्य पर्यटन क्षेत्रका लागि यो महत्वपूर्ण कार्यक्रम रहेको बताएका छन् । पोखरा भ्रमण वर्षको औपचारिक शुभारम्भ कार्यक्रममा भएको दुर्घटनामा परेर घाइते भई काठमाडौंमा उपचाररत प्रमुख आचार्यले आफ्नो सामाजिक सञ्जालमार्फत कार्यक्रमको भव्य सफलताको शुभकामना व्यक्त गरेका छन् । उनले यो एक्स्पोले नेपाल, भारत, र चीनबीचको पर्यटन प्रवर्द्धन, व्यापार सहकार्य, तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् । पोखरा सबैका लागि सधैं सुरक्षित छ भन्ने सन्देश दिन जरुरी रहेको बताउँदै यो अवसरलाई सदुपयोग गर्नुपर्नेमा आचार्यले जोड दिए ।
नेपाल पर्यटन बोर्डका सिईओ दीपकराज जोशीले ट्राभल मार्ट झट्ट हेर्दा मेला जस्तो देखिएपनि यसले दीर्घकालीन महत्व राख्ने बताए बताएका छन् । एक्स्पो आयोजनाका लागि नेपाल पर्यटन बोर्ड, उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश, पोखरा महानगरपालिका, पोखरा टुरिजम काउन्सिल र अन्य प्रमुख पर्यटन संघसंस्था र सरकारी एवं निजी क्षेत्रका विभिन्न साझेदार संस्थाहरुको सहकार्य रहेको छ ।