फोर  नेसन्स अन्तराष्ट्रिय महिला च्याम्पियनसिप

नेपाल र म्यानमारको २-२ गोलको बराबरी, दुबै टिम बुधबार फाइनलमा भिड्ने

केन्द्रभाग मिडिया

पोखरा ।
फोर नेसन्स अन्तराष्ट्रिय महिला च्याम्पियनसिपमा आइतबार साँझ भएको समुह चरणको अन्तिम खेलमा नेपाल र म्यान्मारले २-२ गोलको बराबरी खेलेका छन् । बराबरीसँगै नेपाल र मयानमारले एक र एक अंक बाँडेका छन् । दुबै टिम यस अघि नै फाइनलमा पुगिसकेका छन् । अब उपाधिका लागि दुबै टिम बुधबार भिड्नेछन् ।

आजको खेलको छैटौँ मिनेटमा नै नेपाल १–० ले पछि परेको थियो । म्यानमारकी म्यान नाई खिनको फ्रिकीक प्रहार नेपालकी गोलरक्षक अञ्जना राना मगरले जोगाउन नसक्दा नेपाल सुरुवातमा नै पछि परेको हो ।  तर खेलको ११ औँ मिनेटमा सविता राना मगरले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् । सावित्रा भण्डारीले डिबक्स भित्रबाट दिएको क्रसमा सविताले गोल गर्दै नेपाललाई बराबरीमा ल्याएकी थिइन् ।

खेलको १५ औँ मिनेटमा गीता रानाको फ्रिकीक सिधै म्यानमारकी गोलरक्षकको हातमा पुग्यो । १६ औँ मिनेटमा म्यानमारले नेपालविरुद्ध पुनः अग्रता बनायो । स्वी यी थुनको लामो प्रहारलाई मे हेथे वाइको नियन्त्रणमा लिएपनि नेपालकी डिफेन्डर गिता रानाले राम्रो सँग क्लीयर गर्न नसकेको बललाई उनले पोष्टको गति दिएकी थिइन् ।

खेलको २७ औँ मिनेटमा साम्बाको फ्रिकिक सिधै म्यानमारकी गोलरक्षकको हातमा पुग्यो। ३२ औँ मिनेटमा म्याथ नोइको फ्रिकीक नेपालकी गोलरक्षक अञ्जनाको हातमा पुग्यो । तर खेलको ४० औँ मिनेटमा साम्बाको गोलमा नेपाल फेरि खेलमा फर्किएको हो । प्रीति राईको पासमा साम्बाले बललाई पोष्टको जाली चुमाएकी थिइन् ।

खेलको ६३ औँ मिनेटमा विन थेंगी टनको फ्रिकीक गोलरक्षक अञ्जनाको हातमा पुग्यो । खेलको ७३ औँ मिनेटमा प्रीति राईको फ्रिकीकमा रश्मी कुमारी घिसिङको हेडर सिधै गोलरक्षकको हातमा पुग्यो । लगत्तै रेनुका नगरकोटेको प्रहार किपर कै हातमा पुग्दा नेपालले अग्रता बनाउने मौका गुमायो ।

  • ११ फाल्गुन २०८१, आईतवार २०:२६ प्रकाशित