पोखरा।
आज पोखराको वायु प्रदूषणले खतरनाक तह पार गरेको छ । वातावरण विभागका अनुसार दिउँसो पौने २ बजेसम्मको समयमा पोखराको वायु प्रदूषण ३२१ मापन गरिएको छ । यो आज नेपालभरकै प्रदूषण मापनमा उच्च हो ।
वातावरण विभागका अनुसार ०-५० एक्यूआईसम्मको सूचकांकमात्रै राम्रो मानिन्छ भने ३०१ एक्यूआईभन्दा माथिलाई खतरनाक तहमा पुगेको मानिन्छ । शनिबार पोखरामा वर्षात् भए पनि वायु प्रदूषणमा सुधार नभएको हो ।
पोखराबाहेकका अन्य ४ सहरको अस्वस्थ तहमा छन् । वातावरण विभागका अनुसार ५१-१०० मध्यम, १०१-१५० हुँदा अस्वस्थ, १५१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ ।
दोस्रो स्थानमा रहेको भैंसेपाटीको वायु प्रदूषण १३३, शंखपार्क १३१, धनगढी १०९ र भरतपुरको १०१ एक्यूआई प्रदूषण मापन गरिएको छ । पछिल्लो २५ घन्टामा पनि पोखरा नै उच्च प्रदूषित सहरमा देखिएको थियो ।
मंसिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने भएकाले सुरक्षा अपनाउन वातावरण विभागले सूचनामार्फत जानकारी दिएको छ ।